नौमुडे मन्दिरमा २ सय ९ किलोको घण्ट

चैत्र २५, २०८१

डीबी बुढा

A bell weighing 290 kilos in the Naumude temple

जुम्ला — जुम्लाको पातारासी गाउँपालिका–६ घोडासिन गाउँको सिरानमा रहेको नौमुडे देवताको मन्दिरमा २ सय ९ किलोको घण्ट राखिएको छ ।

पहिलोपटक नौमुडे देवताको मन्दिरमा यति ठूलो घण्ट राखिएको हो । घण्टलाई जुम्ला सदरमुकाम खलंगामा रहेको प्रशिद्ध चन्दननाथ–भैरवनाथ मन्दिर परिक्रमा गराइएको थियो । 

स्थानीय भक्तजनहरुको बाक्लो उपस्थितिमा महाघण्टी यात्रा निकालेर मन्दिरमा घण्ट पुर्‍याइएको स्थानीय ऐनबहादुर कठायतले बताए । उनका अनुसार ६ लाख ११ हजार रुपैयाँ मूल्यको घण्ट मन्दिरमा राखिएको हो ।

उक्त घण्ट ललितपुरको पाटनमा पञ्चधातुको प्रयोगले बनेको हो । मन्दिरमा स्थानीय रातभर जाग्राम बसेर पूजापाठ गरेर घण्ट स्थापित गरिएको थियो । यो घण्ट जुम्लामै ठूलो र पहिलो पटक राखिएको स्थानीयको दाबी छ । 

नौमुडे मन्दिरमा पुगेर पूजाआजा गरे मनोकामना पूरा हुने जनविश्वास छ । चैते दसैं र वडादसैंमा यहाँ मेला लाग्ने गर्छ । 

यो मन्दिरलाई पहिले कोट भनिन्थ्यो । बाइसे चौबिसे राज्यको पतन पछि स्थानीयले नौमुडे मन्दिरको रुपमा नामाकरण गरेका थिए । यो मन्दिरमा सयौंको संख्यामा पशुबली दिने चलन छ । 

चन्दननाथ नगरपालिका ३ सिमखाडागाउँका पण्डितहरुले पूजापाठ गरिरहेका छन् । 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully