हुम्लामा भेटिए ३९ हिउँ चितुवा

उत्तरी नाम्खा गाउँपालिकामा हिउँ चितुवा अध्ययनका लागि ६१ वटा क्यामेरा राखिएको थियो

चैत्र २५, २०८१

डीबी बुढा

39 snow leopards found in Humla

जुम्ला — हुम्लामा लोपोन्मुख हिउँ चितुवाको संख्या बढ्दै गइरहेको पाइएको छ। सन् २०२२ देखि २०२३ सम्म गरिएको अध्ययनले दुर्लभ हिउँ चितुवाको संख्या बढ्दै गइरहेको देखाएको हो। अध्ययनका अनुसार उत्तरी नाम्खा गाउँपालिकामा कम्तीमा ३९ वटा हिउँ चितुवा छन्।

डिभिजन वन कार्यालयको समन्वयमा उकाली तथा तेस्रो धुब्र संरक्षणले हिउँ चितुवाको अध्ययन गर्न क्यामरा ट्रयापिङ प्रविधिको प्रयोग गरेको थियो।

हिउँ चितुवा अनुसन्धानकर्ता रिन्जिन फुन्जोक लामाले नाम्खामा लोपोन्मुख हिउँ चितुवा भेटिएको बताए । उनका अनुसार ६१ वटा क्यामेरा हिउँ चितुवाको अध्ययनको लागि प्रयोग गरिएको थियो । जसमा ३९ वटा हिउँ चितुवा कैद भएका हुन्। 

यो अध्ययन संरक्षित क्षेत्र बाहिर गरिएको पहिलो थियो । हुम्लामा हिउँ चितुवाको संख्या निकालेको पनि पहिलो नै हो । 'पहिले हिउँ चितुवा छ भन्ने थियो तर यति धेरै संख्यामा भेटिएला भन्ने लागेको थिएन, हिउँ चितुवा अनुसन्धानकर्ता लामाले भने, ‘यति धेरै संख्यामा हिउँ चितुवा भेटिएपछि अनुसन्धानमा समेत उत्साह थपिएको छ । अब थप अध्ययनको काम अघि बढ्छ ।’

अहिले हिउँ चितुवाको वासस्थान, खानपान र संरक्षणका विषयमा स्थानीय र सरोकारवालासंग छलफल भइरहेको छ । हिउँ चितुवा संरक्षणमा देखिएका चुनौती समेत अध्ययन भइरहेका छन्,' लामाले भने,‘अब हिउँ चितुवाको संख्या बढाउन र बासस्थानको संरक्षणमा जोड दिइनेछ ।’

अनुसन्धानकर्ता लामा रोयलेक्स अर्वाड विजेता हुन्। उनले अवार्ड स्वरुप आएको दुई करोड ६० लाख रुपैयाँले हुम्लामा चितुवाको अध्ययन सुरु गरेका हुन्। २०७८ को माघ महिनादेखि अध्ययन सुरु भएको थियो । 'पहिले आर्थिक अभावका कारण हिउँ चितुवाबारे कुनै कार्यक्रम हुन सकेको थिएन,' उनले भने, ‘अब केन्द्र, प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर राष्ट्रिय अर्न्तराष्ट्रिय दाताहरूसँग साभेदारी गरेर अघि बढ्ने कार्ययोजना बनेको छ ।’

हिउँ चितुवाको संख्या यकिन भएपछि संरक्षण अभियानमा हुम्लाबासीको चासो गएको छ। हिउँ चितुवाको खानपान, बासस्थान संरक्षणको लागि सबैको प्रतिवद्धता समेत रहेको छ। हुम्ला सदरमुकाम सिमिकोटदेखि पाँच दिन पैदल हिडेर लिमी पुगिसकेपछि घोडा खच्चरमा खानपान बोकेर लिएर हिउँ चितुवा पाइने स्थानमा पुगिन्छ । 

सरकारले २०२४ देखि २०३० सम्म हिउँ चितुवाको गणना तथा संरक्षणलाई प्राथमिकतामा राखेको छ । क्यामेरा ट्रयापिङको प्रयोगले गरेको अध्ययनले हिउँ चितुवा संरक्षण अभियानलाई अझ प्रभावकारी रुपमा अघि बढाउने आशा गरिएको लामाले बताए। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, वन तथा भु संरक्षण विभाग तथा राष्ट्रिय अर्न्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा हिउँ चितुवाको गणना अभियानमा यो अध्ययनले प्रत्यक्ष रुपमा योगदान गर्ने वैज्ञानिक अधार प्रदान गरेको लामाको भनाइ छ ।

नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले हिउँ चितुवाको तथ्यांक ल्याउने कार्य सकिएको बताए । उनले भने, ‘हिउँ चितुवाको संख्या बाहेकको अन्य कामहरू आइपुगेको छैन । सबै अध्ययन प्राप्त भइसकेपछि हिउँ चितुवा संरक्षण अभियानका बारेमा सरकारले कार्य योजना बनाएर अघि बढ्छ। नाम्खामा ६ वटा वडा छन्। सबै वडाका पाटनहरूमा हिउँ चितुवा पाइने गरेको छ। 

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully