सुर्खेतमै थन्किए कर्णालीका पाठ्यपुस्तक 

भर्ना अभियान सुरु हुन झण्डै एक साता बाँकी, स्थानीय तहले रकम निकासा नदिँदा बर्सेनि पाठ्यपुस्तकको अभाव झेल्दै कर्णालीका विद्यार्थी 

चैत्र २४, २०८१

कृष्णप्रसाद गौतम

Karnali textbooks were kept in Surkhet

सुर्खेत — जनक शिक्षा सामग्री केन्द्रले यही १२ र १३ गते हुम्ला र मुगुका पुस्तक व्यवसायीलाई कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक लिनका लागि सूचना प्रकाशित गर्‍यो । हुम्लाका केही व्यवसायीले पाठ्यपुस्तक खरिद गरेर लिए पनि मुगुबाट कोही पनि सम्पर्कमा आएनन् । 

जसका कारण मुगुमा अहिलेसम्म एक सेट पनि किताब जान सकेको छैन । त्यस्तै जाजरकोटका लागि चैत १८ देखि १९ गते सूचना जारी भए पनि किताब लिन कोही पनि व्यवसायी सम्पर्कमा आएका छैनन् । 

कालीकोट, डोल्पा र जुम्लामा पनि बढीमा १ हजारदेखि १५ सय सेट मात्र किताब गएको छ । जबकी ती जिल्लामा कम्तीमा ३ हजारदेखि ५ हजार सेट किताब आवश्यक पर्छ । केन्द्रले प्रदेशभरी पाठ्यपुस्तक वितरण गर्न ८९ वटा पुस्तक पसललाई सूचीकृत गरेको छ । तर अझै पनि १०/१२ वटाबाहेक अन्य व्यवसायी पुस्तक खरिद गर्न नआएको केन्द्रका प्रादेशिक प्रमुख भैरववावु पन्तले बताए ।

‘बिक्रेता नै नआउँदा किताबजति सुर्खेतमै थन्किए, केन्द्रबाट किताब किनेका बिक्रेताले पनि किताब जिल्लामा लैजान सुरु गरेका छैनन्,’ उनले भने, ‘एक हप्ताभित्र सबै किताब नउठे भर्ना अभियानमा विद्यार्थीले किताब पाउन मुस्किल हुन्छ ।’ 

उनका अनुसार आगामी शैक्षिक सत्रका लागि सुर्खेतबाट २५ हजार सेट किताब वितरणको लक्ष्य भए पनि बढीमा ८ हजार सेट मात्र किताब उठेको छ । कर्णालीका पहाडी जिल्लामा पनि बढीमा ६ सयभन्दा बढी किताब गएका छैनन् । पाठ्यपुस्तकका लागि स्थानीय तहहरुले विद्यालयको खातामा रकम नपठाउँदा व्यवसायीले किताब लिन नमानेको केन्द्रले जनाएको छ । 

सुर्खेतस्थित नविन बुक्स एण्ड स्टेसनरीका प्रोपाइटर चेतन कँडेलले स्थानीय तहमार्फत विद्यालय हुँदै आफूहरुले रकम पाएपछि जनक शिक्षाबाट किताब लिने गरेको बताए । ‘स्थानीय तहहरुले अझै विद्यालयलाई पैसा दिएका छैनन्, विद्यालयले हामीलाई विद्यार्थीको तथ्यांकसहित रकम दिए मात्र किताब लिन सहज हुन्छ,’ उनले भने, ‘लगानी डुब्ने भएपछि हामीले पनि आफै लगानी गरेर किताब ल्याउन सकिँदैन, तर किताबको दोषजति हामी व्यवसायीलाई मात्र दिने गरिएको छ ।’ 

उनले ९ प्रतिशत कमिसनको लोभमा ठूलो रकम जोखिममा राखेर लगानी गर्न नसकिने बताए । कालीकोटका पुस्तक व्यवसायी अमर पाण्डेले विद्यालयहरुले आफूहरुलाई रकम नदिँदासम्म किताब किन्न नसकिने बताए ।

सुर्खेतमा पञ्चपुरी र लेकवेंसी नगरपालिकाले मात्र पाठ्यपुस्तकको रकम विद्यालयलाई निकासा दिएका छन् भने हुम्लामा सर्केघाट र सिमकोटमा मात्र रकम गएको छ । जुम्लामा कुनै पनि स्थानीय तहले पाठ्यपुस्तकको रकम निकासा नगरेको जुम्लाको कुडारीस्थित दिपकैलाश स्टेसनरीका प्रोपाइटर दिनेश बुढाले बताए ।

‘पोहोर साल जोखिम मोलेर ३ सय थान जति किताब लगियो, तर विद्यालयले खरिद नै गरेनन्,’ उनले भने, ‘यो वर्ष पनि किताब थन्किने हुन् कि भन्ने चिन्ताले खरिद गर्न सकिएको छैन ।’ कर्णालीका ग्रामीण क्षेत्रका विद्यार्थीले वर्षौदेखि पुरानो पुस्तक पढ्नुपर्ने बाध्यता भएको जुम्लाको सिंजा गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयका शिक्षक कमल नेपालीले बताए ।

‘एक त विद्यार्थी संख्याअनुसार पाठ्यपुस्तकको रकम आउँदैन, आए पनि १/२ महिना बितेपछि मात्र आउँछ,’ उनले भने, ‘पुस्तक समयमै नपुग्दा विद्यार्थीहरु वर्षौदेखि पुरानो किताबबाटै पठनपाठन गर्न बाध्य छन् ।’

समयमै किताब नपुग्दा बर्सेनि विद्यार्थीहरु पुराना पुस्तकको भरमा हुने गरेको हुम्लाको ताजाकोट गाउँपालिकास्थित बालकल्याण प्राथमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्रबहादुर शाहीले बताए । उनका अनुसार गत वर्ष विद्यालयमा झण्डै ५ सय विद्यार्थी भर्ना भएकोमा झण्डै १ सय विद्यार्थीले पुराना पुस्तक प्रयोग गरेका थिए । 

‘यो वर्ष पनि भर्ना अभियानको बेला पुस्तक आउने छाँटकाँट देखिएन,’ उनले भने, ‘दुर्गमका विद्यार्थीका लागि अरु त सुविधा छैनन् नै किताब पनि अपूरो र ढिलो आउँछ ।’ स्थानीय तहहरुले भने भर्ना अभियानकै बेला विद्यार्थीको हातहातमा किताब पुग्ने दाबी गर्दै आएका छन् । वीरेन्द्रनगर नगरपालिका उपप्रमुख निलकण्ठ खनालले १/२ दिनभित्र विद्यालयको खातामा पैसा जाने बताए । 

‘विद्यालयले पनि बिक्रेतालाई रकम छिट्टै दिन्छन्,’ उनले भने, ‘ढिलोमा एक साताभित्र विद्यालयलाई किताब दिनेगरि व्यवस्था मिलाउँछौं ।’ मुगुस्थित मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले पनि एक साताभित्र किताब पुर्‍याउनेगरी व्यवसायीलाई ताकेता गरिरहेको बताए ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशकी निमित्त निर्देशक दीपा हमालले समयमै पाठ्यपुस्तक पुर्‍याउन आवश्यक पहल भइरहेको बताइन् । ‘यो वर्ष जनक शिक्षामा किताबको अपर्याप्तता छैन,’ उनले भने, ‘स्थानीय तहले विद्यालयलाई समयमै पाठ्यपुस्तकको रकम निकासा नदिँदा पनि समस्या भएको देखियो, जसका कारण विद्यालयले पनि पुस्तक व्यवसायीलाई रकम दिन सकेका छैनन, अबको एक साताभित्रै सबै विद्यालयमा पुस्तक वितरणको व्यवस्था मिलाउन आग्रह गरिरहेका छौं ।’

कृष्णप्रसाद गौतम कान्तिपुरका सुर्खेत संवाददाता हुन् ।

Link copied successfully