घरमै उमारेपछि ब्याडमा छरे किसानले मार्सी धानको बीउ

चैत्र २१, २०८१

डीबी बुढा

After growing at home, the farmer sows the seeds of marsi paddy in the bed

जुम्ला — विश्वको उच्च स्थानमा फल्ने काली मार्सीधानको बीउ जुम्लाका किसानले बुधबार ब्याडमा छरेका छन् । चैत १२ गते भिजाएको धानको बीउ १६ गते निकालेर चार दिन सुकाइसकेपछि बुधबार किसानले छरेका हुन् ।

धानको बीउ राख्ने प्रचलन जुम्लाको भिन्नै छ । अन्यत्र ब्याडमा सिधै धान लगेर छर्ने गरिए पनि जुम्लामा भने घरमै उमारिसकेपछि मात्र ब्याडमा लगेर छरिन्छ । 

सदियौंदेखि जुम्लामा चैतको १२ गते नै धानको बीउ भिजाइन्छ । तामाका ताउलो, ठूला डेक्चीलगायतका भाँडामा भिजाइन्छ । पहिलेपहिले त नदीको दहमासमेत लगेर धानको बीउ भिजाइन्थ्यो । 

तर अहिले घरमै भिजाउँछन् त्यो पनि जिल्लाभरका किसानले एकैपटक । यसरी भाँडामा राखेर भिजाइएको धान चैत १६ गते निकालिन्छ । भान्साकोठाको छेउमा न्यानो हुनेगरी चारदिनसम्म भोजपत्र, न्यानो कपडालगायतले छोपेर बिहानबेलुका पानी छम्किने गरिन्छ । 

चार दिनसम्म यसरी राखिएको बीउ उम्रिसकेपछि २० गते तयार पारिएको ब्याडमा लगेर छरिन्छ । यसरी राखेको बीउ रोपाइका लागि जेठ पहिलो सातासम्म तयार हुन्छ । 

तर पछिल्लो समय मार्सीधानमा देखिएका विभिन्न रोगका कारण यसको खेती भने घट्दै आएको छ । चन्दननाथ नगरपालिका ४ मालाभिडका दिवानन्द चौलागाईले मार्सीधानमा रोगको संक्रमण देखिए पनि किसानहरुले रोपिरहेको बताए । उनले भने, ‘यो पहिलेदेखि गरि आएको चलन हो । त्यही अनुसार चैत २० गते बीउ ब्याडमा लिएर छर्‍यौं । यो समय तलमाथि गर्न मिल्दैन ।’

दिवानन्दले १० पाथी भिजाएको मार्सीधानको बीउ ब्याडमा लिएर छरेका छन् । ८ मुरी खेतमा रोप्ने उनको तयारी छ । उनले भने, ‘मार्सीधान उत्पादन त केही धेरै हुँदैन । अर्को करिब बीउ राख्नेदेखि धान पाक्दासम्म ८ महिना समय लाग्छ । तै पनि पराम्परादेखि गरिआएको खेती जोगाउन पनि रोपिरहेका छौं ।’

After growing at home, the farmer sows the seeds of marsi paddy in the bed

आठ मूरीमा फलेको धानले मुस्किलले तीन देखि चार महिनासम्ममा धान्छ । तर स्थानीयले बजारमा पाइने चामलसँग मिसाएर खाने गरेका छन् । जुम्लामा मार्सीधानको बीउ ब्याडमा छर्ने दिनलाई विशुव पर्वका रुपमा मनाउने चलन छ । 

विक्रम संवत ११९८ सालदेखि चन्दननाथ बाबा र लछालकृति पैकलाले मार्सीधानको उत्पादन गरेको दिनको रुपमा विशुव मनाउने गरिएको जानकारहरु बताउने गर्छन् । यहाँ धानखेतीको चक्र चैत महिनाको १२ गतेदेखि नै सरु हुन्छ । चैत २० गते ब्याडमा राखिएको बीउलाई जेठभित्र रोपिसक्छन् । कात्तिकमा धान काटेर भित्र्याएपछि मार्सीधानको ८ महिने चक्र सकिन्छ । 

बुधबार बेडमा छरेको मार्सीधानको वैशाख १ गते विसेपानी फाल्ने मान्यता छ । अबका दिन बर्खे खेतीमा व्यस्त हुनुपर्ने भएकाले पनि बीउ छर्ने दिन महिलाहरुले देउडा खेल्दै रमाइलो गर्छन् । जुम्लाको तिर्खु जिउला, शेराडाब, लाछु र सिंजाका जिउलाहरुमा मार्सी धान बढी फल्छ । 

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान भिजाउने र छर्ने विधि परम्परागत रुपमा धार्मिक सांस्कृतिक र पर्यवरणीय मान्यतासँग गहिरो रुपमा जोडिएको बताए । उनले भने, ‘मार्सीधान शुभ साइत, शुद्ध पानी, पूजा र परम्परागत भण्डारणका विधिहरु अपनाएर मात्र खेती सुरु हुने भएकोले आफ्नै खालको पहिचान छ ।’ 

उनका अनुसार मार्सीधानको संरक्षणका लागि पकेट क्षेत्र देखि किसानलाई सचेतना दिँदै आएको छ । जुम्लामा २ हजार ८ सय ५० हेक्टरमा धानखेती हुने गरेकोमा ९ सय ५० हेक्टरमा मात्र मार्सीधानको खेती हुने गरेको छ ।

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully