जुम्ला — विश्वको उच्च स्थानमा फल्ने काली मार्सीधानको बीउ जुम्लाका किसानले बुधबार ब्याडमा छरेका छन् । चैत १२ गते भिजाएको धानको बीउ १६ गते निकालेर चार दिन सुकाइसकेपछि बुधबार किसानले छरेका हुन् ।
धानको बीउ राख्ने प्रचलन जुम्लाको भिन्नै छ । अन्यत्र ब्याडमा सिधै धान लगेर छर्ने गरिए पनि जुम्लामा भने घरमै उमारिसकेपछि मात्र ब्याडमा लगेर छरिन्छ ।
सदियौंदेखि जुम्लामा चैतको १२ गते नै धानको बीउ भिजाइन्छ । तामाका ताउलो, ठूला डेक्चीलगायतका भाँडामा भिजाइन्छ । पहिलेपहिले त नदीको दहमासमेत लगेर धानको बीउ भिजाइन्थ्यो ।
तर अहिले घरमै भिजाउँछन् त्यो पनि जिल्लाभरका किसानले एकैपटक । यसरी भाँडामा राखेर भिजाइएको धान चैत १६ गते निकालिन्छ । भान्साकोठाको छेउमा न्यानो हुनेगरी चारदिनसम्म भोजपत्र, न्यानो कपडालगायतले छोपेर बिहानबेलुका पानी छम्किने गरिन्छ ।
चार दिनसम्म यसरी राखिएको बीउ उम्रिसकेपछि २० गते तयार पारिएको ब्याडमा लगेर छरिन्छ । यसरी राखेको बीउ रोपाइका लागि जेठ पहिलो सातासम्म तयार हुन्छ ।
तर पछिल्लो समय मार्सीधानमा देखिएका विभिन्न रोगका कारण यसको खेती भने घट्दै आएको छ । चन्दननाथ नगरपालिका ४ मालाभिडका दिवानन्द चौलागाईले मार्सीधानमा रोगको संक्रमण देखिए पनि किसानहरुले रोपिरहेको बताए । उनले भने, ‘यो पहिलेदेखि गरि आएको चलन हो । त्यही अनुसार चैत २० गते बीउ ब्याडमा लिएर छर्यौं । यो समय तलमाथि गर्न मिल्दैन ।’
दिवानन्दले १० पाथी भिजाएको मार्सीधानको बीउ ब्याडमा लिएर छरेका छन् । ८ मुरी खेतमा रोप्ने उनको तयारी छ । उनले भने, ‘मार्सीधान उत्पादन त केही धेरै हुँदैन । अर्को करिब बीउ राख्नेदेखि धान पाक्दासम्म ८ महिना समय लाग्छ । तै पनि पराम्परादेखि गरिआएको खेती जोगाउन पनि रोपिरहेका छौं ।’
आठ मूरीमा फलेको धानले मुस्किलले तीन देखि चार महिनासम्ममा धान्छ । तर स्थानीयले बजारमा पाइने चामलसँग मिसाएर खाने गरेका छन् । जुम्लामा मार्सीधानको बीउ ब्याडमा छर्ने दिनलाई विशुव पर्वका रुपमा मनाउने चलन छ ।
विक्रम संवत ११९८ सालदेखि चन्दननाथ बाबा र लछालकृति पैकलाले मार्सीधानको उत्पादन गरेको दिनको रुपमा विशुव मनाउने गरिएको जानकारहरु बताउने गर्छन् । यहाँ धानखेतीको चक्र चैत महिनाको १२ गतेदेखि नै सरु हुन्छ । चैत २० गते ब्याडमा राखिएको बीउलाई जेठभित्र रोपिसक्छन् । कात्तिकमा धान काटेर भित्र्याएपछि मार्सीधानको ८ महिने चक्र सकिन्छ ।
बुधबार बेडमा छरेको मार्सीधानको वैशाख १ गते विसेपानी फाल्ने मान्यता छ । अबका दिन बर्खे खेतीमा व्यस्त हुनुपर्ने भएकाले पनि बीउ छर्ने दिन महिलाहरुले देउडा खेल्दै रमाइलो गर्छन् । जुम्लाको तिर्खु जिउला, शेराडाब, लाछु र सिंजाका जिउलाहरुमा मार्सी धान बढी फल्छ ।
कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले मार्सीधान भिजाउने र छर्ने विधि परम्परागत रुपमा धार्मिक सांस्कृतिक र पर्यवरणीय मान्यतासँग गहिरो रुपमा जोडिएको बताए । उनले भने, ‘मार्सीधान शुभ साइत, शुद्ध पानी, पूजा र परम्परागत भण्डारणका विधिहरु अपनाएर मात्र खेती सुरु हुने भएकोले आफ्नै खालको पहिचान छ ।’
उनका अनुसार मार्सीधानको संरक्षणका लागि पकेट क्षेत्र देखि किसानलाई सचेतना दिँदै आएको छ । जुम्लामा २ हजार ८ सय ५० हेक्टरमा धानखेती हुने गरेकोमा ९ सय ५० हेक्टरमा मात्र मार्सीधानको खेती हुने गरेको छ ।
