डोल्पामा नगर प्रहरीद्वारा व्यापारीमाथि कुटपिट

चैत्र २०, २०८१

रामचन्द्र न्यौपाने

Traders beaten up by city police in Dolpa

डोल्पा — डोल्पाको त्रिपुरासुन्दरीमा नगर प्रहरीले व्यापारीलाई कुटपिट गरेका छन् । बजार सरसफाइ गराउन निस्केका नगर प्रहरीले किराना पसल अघि फोहोर गरेको भन्दै ५५ वर्षीय कृष्णमुरारी वैश्यमाथि कुटपिट गरेका हुन् ।

नेपालगन्जबाट व्यापार गर्न आएका उनलाई नगर प्रहरीले मुक्का हानेका थिए । प्रहरीको मुक्का प्रहारबाट उनको मुखमा चोट लागेर रगत निस्केको छ । 

एकाबिहानै पसल अघि आएको नगर प्रहरीको टोलीले आफूलाई पसल अघिको मुख्य सडकमा पानी पोखेको भन्दै सुरुमा लछारपछार गरी पछि मुक्का प्रहार गरेको उनले बताए ।

उनले भने, 'त्यो पानी माथिबाटै चुहिएर आएको हो, पसल अघि फोहोर पनि थिएन, तैपनि एक्कासि आएर प्रहरीले कुटपिट गर्‍यो, बुहारी नपुगेको भए अझै कुटपिट गर्थ्यो, अब नगर प्रहरीको ज्यादतीविरुद्ध कानुनी उपचार खोज्छु ।'

आफूमाथि भएको कुटपिटको घटनालाई लिएर नजिकै रहेको प्रहरी चौकी त्रिपुराकोट जाँदा प्रहरीले नगरपालिकामै जानुस् भनेर फर्काएको उनको गुनासो छ ।

नगर प्रहरीका हवल्दार लोकबहादुर बुढाले पसल अघि भएको फोहोर सफा गर्नुस् भन्दा नमानेपछि घम्साघम्सी भएको नगर प्रहरीले बताएको छ ।

रामचन्द्र रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully