सल्यानका सामुदायिक वनमा तीन दिनदेखि लगातार डढेलो

चैत्र १९, २०८१

विप्लव महर्जन

There has been continuous fire for three days in the community forest of Salyan

सल्यान — जिल्लाको शारदा नगरपालिका–११ खैराबाङ्ग आसपासका चण्डेश्वरी, पाटेश्वरी र भुवनेश्वरी गरी तीन सामुदायिक वनमा लगातार तीन दिनदेखि डढेलो लागेको छ । पाटेश्वरी सामुदायिक वनबाट सुरु भएको डढेलो चण्डेश्वरी हुँदै भुवनेश्वरी समुदायिक वनमा पुगेको हो ।

डढेलोका कारण झन्डै १० हेक्टर वन सखाप भइसकेको छ भने स्थानीय उपभोक्ता खटिए पनि हावाहुरी चलेको र भिरालो क्षेत्रमा भएकाले डढेलो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । डढेलोका कारण काफ्ली र नजिकका बस्ती जोखिममा परेका छन् । 

सामुदायिक वनमा कसरी डढेलो लाग्यो भन्ने अहिलेसम्म एकिन नभएको र पाटेश्वरी सामुदायिक वनबाटै छिरेर अहिले डढेलो लागिरहेको भुवनेश्वरी सामुदायिक वनका अध्यक्ष राजु नेपालीले बताए । सामुदायिक वनका सबै सदस्य खटिए पनि हावाहुरी चलेको र भिरालो क्षेत्रमा भएकाले निभाउन नसकिएको उनले जानकारी गराए । वनमा लागेको डढेलो नियन्त्रणमा लिन नसके पनि जोखिममा परेका बस्ती भने बचाउन सफल भएको र थप बस्ती प्रभावित नहुन भनेर अग्निरेखा कोरेको उनको भनाइ छ । 

लगातार लागेको डढेलोका कारण ५ हेक्टर बढी क्षेत्रफल वन सखाप भएको र धेरै सल्लाका रुख जलेर नष्ट भएका पाटेश्वरी सामुदायिक वनका अध्यक्ष खिमलाल बुढाथोकीले बताए । डढेलोका कारण आसपासमा रहेका बस्ती भने सबै गाउँले मिलेर बचाउन सफल भएको उनले जानकारी गराए । ‘सोमबार अबेरसम्म सबै गाउँले, सुरक्षाकर्मी जुटेर वनमा लागेको डढेलो नियन्त्रणमा लिएका थियौं । राति पुन: सल्केर डढेलो नजिकै पर्ने भुवनेश्वरी सामुदायिक वनमा फैलिएको छ,’ उनले भने, ‘डढेलो भिरालो क्षेत्रमा लागिरहेको छ, हावाहुरी चलिरहेकाले नजिकै जान सक्ने अवस्था छैन । आगो निभाउने सामग्री नभएकाले जंगलमा पाइने स्याउला समाउँदै अलि टाढा बस्न बाध्य छौं ।’  

खैराबाङ्गका सामुदायिक वनमा डढेलो लागेको थाहा पाएपछि हिजैदेखि प्रहरी टोली खटिए पनि नियन्त्रण गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । डढेलो नियन्त्रणका लागि पर्याप्त सामग्री नभएको उनले जानकारी गराए । लामो समयदेखिको खडेरीका कारण माघ महिनादेखि नै वनमा डढेलो लाग्न थालेको र डढेलोकै कारण एक जनाले ज्यान गुमाइसकेका उनको भनाइ छ । 

डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजंग खड्काले डढेलो लागेको स्थानमा उपभोक्ता, सुरक्षाकर्मी र डिभिजन वनका कर्मचारी खटिए पनि हावाहुरीकै कारण डढेलो नियन्त्रणमा लिन नसकिएको बताए । लामो समयदेखि लागेको खडेरीका कारण जिल्लाका विभिन्न स्थानका सामुदायिक, राष्ट्रिय वनमा बेलाबेलामा लागेको डढेलोका कारण अहिलेसम्म २ सयभन्दा बढी हेक्टर वनमा क्षति पुगेको र तीन हजारभन्दा बढी सल्ला तथा विभिन्न जातका ठूला रुख, फलफूलका रुख जलेर नष्ट भइसकेका उनको भनाइ छ । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully