'खेती कृषकले मात्र गर्ने हो, खेती गर्ने मान्छे कमजोर हुन्छन् भन्ने मानसिकता बदल्नपर्छ'
वीरेन्द्रनगर — सुर्खेतको चिंगाड गाउँपालिकामा कार्यरत कर्मचारीले सामूहिक तरकारी खेती थालेका छन्। कार्यालय समयमा सरकारी सेवामा रहने उनीहरू बिहान र साँझको समयमा भने खेतीपातीमा लागिरहेका छन्। कर्मचारीहरूले जमिन भाडामा लिएर सामूहिक तरकारी खेती थालेका हुन्।
उनीहरूले थालेको नयाँ उद्यमले गाउँमा रोजगारी सिर्जनामात्रै भएको छैन, आम्दानीसमेत वृद्धि भएको छ।तरकारी खेतीमा लागेका कर्मचारी यहाँका स्थानीय होइनन्, देशका विभिन्न ठाउँहरूबाट सरकारी सेवामा यहाँ आएका हुन्। तर उनीहरू सबै मिलेर यो उद्यम गरिरहेका हुन्।
गत वैशाखको कुरा हो, कार्यालयका केही कर्मचारी गफ गर्दा कार्यालयपछिको समय खेर गइरहेकोप्रति चिन्तित थिए । कार्यालयको कामबाहेक चिया चौतारीमा गफ गर्दै समय खेर गइरहेको थियो। उनीहरू बीचमा कृषिमा लगानी भएन भन्दै छलफल पनि हुन्थ्यो । एकदिन कुरै कुरामा आयो- कृषकले गरेनन् मात्र भन्ने तर आफू पनि त खाली समय उपलब्धिविहीन तरिकाले खेर फालिरहेका छौं।
सुरुमा उनीहरूले तरकारी खेती गर्ने सोच बनाए । वैशाख १५ गते छलफल गरेका उनीहरूले केही दिनमै काम पनि सुरु गरे । पहिलो चरणको छलफल उनीहरूले कार्यालयका सबैलाई सुनाए । सुरुवाती चरणमा १३ जना मिलेर सुरु गरे । पछि २ जना थप भए भएर यो व्यवसायमा १५ जना कर्मचारी जोडिएका छन् । सुरुमा ८० रोपनी जमिन भाडामा लिएका उनीहरूले अहिले २ सय रोपनी थप लिएका छन्।
बन्दा, काउली, टमाटर, सिमी, सागलगायत बेमौसमी–मौसमी तरकारी खेती गर्दै आइरहेका छन् । पहिले वडा नं ५ मा जमिन लिएका उनीहरूले दोस्रो पटक वडा नं. ४ मा जग्गा लिए । स्थानीयलाई वार्षिक रुपमा जमिनको भाडा तिर्छन् । व्यवसायमा १५ जना कर्मचारीले ३० लाख लगानी गरिसकेका छन् ।
सुरुमा २० लाख खर्च भएको र दोस्रो चरणमा १० लाख लगानी थपेको तरकारी खेतीमा जोडिएका पालिकाका सहायकस्तर पाचौं तहका कर्मचारी खड्कबहादुर चन्दले बताए। सबै कर्मचारीहरू कार्यालयको कामभन्दा अघिपछिको समय तरकारी खेतीमै हुन्छन् । उनीहरू समय भएसम्म सबै काम आफैँ गर्छन् ।
समय मिलेका कर्मचारी तरकारी खेतीतरि लागिहाल्छन् । बाँकी कामको लागि स्थानीयलाई सहयोग माग्छन् । ज्यालामजदुरीमा स्थानीयले काम गर्छन । कर्मचारीले तरकारी खेती गरेबाट स्थानीयले गाउँमै रोजगारी पनि पाएका छन् ।
स्थानीय दैनिक ज्यालामजदुरीमा काम गर्छन् । मासिक रुपमा २ जना कर्मचारी स्थानीय छन् । अन्य आवश्यकतामा आधारमा दैनिक रुपमा १०/१२ देखि २० जनासम्म हुन्छन् । उनीहरूले लगाएको तरकारी बिक्री हुन थालिसकेको छ। २० लाख बढीको तरकारी बजारमा गइसकेको छ । अहिलेसम्मको खर्च र आम्दानी लगभग बराबर भएको चन्दले बताए ।
उनका अनुसार दोस्रो चरणमा भने भर्खरै काम हुँदैछ । अहिले आलु खेती मात्र लगाएको उनले बताए । वीरेन्द्रनगरमा भएका हाटबजारमा मण्डीहरूबाट तरकारी खरिद गर्नको लागि बारीमै पुग्छन् । छिन्चु, जहरे, लेकबेंसीको बजारमा पनि तरकारी लिन पुग्छन् । हर्रे सँगै कोहलपुर, नेपालगञ्जसम्म पनि तरकारी जान्छ ।
तरकारी बिक्रीको लागि पनि कर्मचारीहरू आफैँ खटिन्छन् । उनीहरूले तरकारी व्यापारीलाई आफूले उत्पादन भएको तरकारी छ लैजानुस् भनेर बोलाउने गरेका छन्।
कृषिको कुरा गर्ने तर नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नको लागि आफूहरूले यो योजना ल्याएर काम गरिरहेको कर्मचारी चन्दले बताए । ‘गाउँका किसानहरूले सिकुन् भन्ने मुख्य उद्देश्य हो,’ उनले भने,‘सधैँ परम्परागत खेती गरे आयआर्जन हुँदैन । व्यवसायिक खेती गर्न जरुरी छ ।’
खेती कृषकले मात्र गर्ने हो, खेती गर्ने मान्छे कमजोर हुन्छन् भन्ने मानसिकता बदल्नका लागि पनि आफूहरूले काम गरिरहेको उनीहरूको भनाइ छ। कर्मचारी सधैं एकै ठाउँ बस्न नपाउने भएकाले जो जहाँ गए पनि खेती भने नछोड्ने उनले बताए । ‘केही स्थानीय साथीहरू पनि हुनुहुन्छ । कोही न कोही यहाँ भैहाल्नुहुन्छ । जो पालिकामा कार्यरत हुनुहुन्छ । उहाँले नै सम्हाल्ने कुरा भएको छ,’ उनले भने ।
तरकारी खेतीमा मलको लागि कर्मचारीहरूले १० वटा पाडा पनि पालेका छन् । कर्मचारीले व्यवसायिक रुपमा तरकारी खेती गर्न थालेपछि स्थानीय पनि व्यवासयिक खेतीतर्फ आर्कषित भएका छन् । उनीहरूमा अब हामीले पनि गर्नुपर्छ भन्ने सोच आएको छ ।
पालिकाले पनि प्रत्येक वडामा पकेट क्षेत्र निर्माणको कार्य गरिरहेको छ । वडामा कृषि समूह बनाएर तरकारी खेती गर्दै आएका छन् । सामूहिक र व्यक्तिगत फर्म खोलेर पनि खेती गरिरहेका छन् । चिंगाडमा २/३ प्रतिशत मात्र अन्य क्षेत्रमा छन् । अरु सबै कृषिमै निर्भर छन् । पालिका कृषि र पशुपालनको उच्च सम्भावना भएको पालिका पनि हो ।
कृषिमा पालिकाले काम पनि गर्दै आएको कृषि शाखा प्रमुख रोशनकुमार यादवले बताए । उनका अनुसार पालिका स्तरीय नर्सरी पालिकाले स्थापना गरेको छ । ओखरको विरुवा लगाएर कलमि गर्ने र कृषकलाई सस्तोमा विक्री गर्ने योजना भएको उनले बताए । कागती,प्याज,काउली,बन्दा लगाएतका बेर्नाहरू पनि वितरण गरिएकको बताए ।
५० प्रतिशत अनुदानमा कृषकलाई माग अनुसार मिनीटिलर वितरण पनि गरिएको उनले बताए । उनले भने, ‘ओखरको कलमी बिरुवा पनि जुम्लाबाट ल्याएर किसानलाई वितरण गरेका छौं । १८ सय किवीको बिरुवा पनि बाग्मतीबाट ल्याएर वितरण गरेका छौं ।’
आफूहरूले तरकारी खेती गरेपछि कृषि गरेर केही हुँदैन भन्ने धारणामा परिवर्तन देखिन थालेको तरकारी खेतीमै संलग्न कर्मचारी स्थानीय शेरबहादुर रानाले बताए । उनले भने, ‘गाउँमा तरकारी बेच्ने चलन पनि थिएन । तरकारी बेचेर के पैसा आउँछ भन्ने थियो । अहिले यो सोच बदलिएको छ ।’
अहिले स्थानीयले पनि तरकारी खेती गर्न थालेका उनले बताए । कृषकको पहुँच बजारसम्म पुर्याउनको लागि समन्वय गरिदिएको उनले बताए । उनका अनुसार स्थानीयले उत्पादन गरेको तरकारी पनि बिक्री भइरहेको छ । फार्म दर्ता गरेर आफूहरूले तरकारी खेती गरेको उनले बताए ।
‘सबै साथीहरूले कामदारको रुपमा काम गर्ने गरेका छौं । आवश्यकताको आधारमा स्थानीयलाई ज्यालामजदुरीमा सहयोग पनि माग्छौं,’ उनले भने । स्थानीय हिमराज खड्का पालिकाका कर्मचारीहरूले गरेको तरकारी खेतीले सकारात्मक सन्देश दिएको बताउँछन् ।
तरकारी खेती गर्ने उनी भन्छन्, ‘म एक्लै थिएँ। व्यवसायिक तरकारी खेती गर्ने । कर्मचारीहरूले पनि सुरु गरेदेखि बजारीकरणको लागि सहयोग पुगेको छ । चिंगाडमा गहुँ र मकै मात्र होइन, तरकारी खेती पनि गर्न सकिने रहेछ भन्ने भएको छ ।’
