सल्यान — जिल्ला प्रशासन कार्यालय सल्यानमा राष्ट्रिय परिचय पत्र बनाउन आएका वृद्धको लडेर मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका-७ पैय्याचौर घर भई हाल टाटकेमा बस्दै आएका ७० वर्षीय टीकाराम ओलीको मृत्यु भएको हो ।
राष्ट्रिय परिचय पत्र बनाउनलाई कार्यालय परिसर भित्र उभिएका उनी लडेका थिए । ओली आफ्नो भान्जी ज्वाइँसँग राष्ट्रिय परिचय पत्र बनाउन बिहीबार घरबाट जिल्ला प्रशासन कार्यालय सल्यानमा आएका थिए ।
लडेर बेहोस भएका ओलीको उपचारका लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । उनका अनुसार लडेर बेहोस भएका ओलीको टाउकोमा चोट लागेको थियो । ओलीको सव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।
जिल्ला स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले एकासी ढलेर बेहोस भएका वृद्धको हृदयाघात भएर नै मृत्यु भएको हुन सक्ने बताए । वृद्धको टाउकोमा चोट लागेको उनले जानकारी गराए ।
