सल्यान — बिजुली सर्ट भई आगलागी हुँदा सल्यानमा घर जलेर नष्ट भएको छ । कुमाख गाउँपालिका-५ झारकाँडाका ३६ वर्षीय विष्णु कुमाईको घर मंगलबार बिहान ३ बजेतिर जलेर नष्ट भएको हो ।
आगलागीबाट घरभित्र भएका खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, महत्वपूर्ण कागजात, दुई तोला सुन र ७० हजार नगद जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । घटनामा ७ लाख ४५ हजार रकम बराबरको क्षति भएको उनको भनाइ छ ।
आगलागी भएपछि परिवारका सदस्य भागेका थिए । स्थानीय तथा प्रहरीको सहयोगमा बिजुलीको लाइन काटेर डेढ घन्टापछि आगो नियन्त्रणमा लिइएको थियो । पीडित परिवार आफन्तकहाँ बसेका छन् ।
