सल्यान — सल्यानमा आइतबार बिहान करिब १० बजेतिर भएको जिप दुर्घटनामा घाइतेमध्ये दुईजनालाई रिफर गरिएको छ । शारदा नगरपालिका-११ का १० वर्षीय अनुपम बुढाथोकी र कुमाख गाउँपालिका-३ का ५० वर्षका परविर रावतलाई रिफर गरिएको हो ।
सबैभन्दा बढी चोट लागेका दुवैलाई जिल्लाको शारदा नगरपालिका-१ श्रीनगरस्थित शारदा पोलिक्लिनिकबाट थप उपचारका लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । उनका अनुसार बुढाथोकीको टाउको, खुट्टा र ढाडमा चोट लागेको छ भने रावतको खुट्ट भाँचिनुका साथै शरीरका अन्य भागमा चोट लागेको छ ।
कुमाखको तिमिलेबाट श्रीनगर आउँदै गरेको भे १ ज १२१४ नम्बरको यात्रुबाहक जिप सिद्धकुमाख गाउँपालिका-३ फलाटे नजिकै गतियानामा दुर्घटना परेको थियो । सवार १८ मध्ये चालकबाहेक १७ जना सबै घाइते भएका छन्। ब्रेक फेल भएर भित्तामा ठोक्किँदा जिप सडकमै पल्टिएको थियो । अन्य घाइतेको शारदा पोलिक्लिनिकमै उपचार भइरहेको छ ।
