सल्यान — जिल्लाको छत्रेश्वरी गाउँपालिकाले महिला सशक्तीकरण र उज्यालो समाज कार्यक्रम सुरु गरेको छ । सशक्तिकरणको माध्यमबाट महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरण र क्षमता अभिवृद्धि गर्न, लैंगिक हिंसा रोकथाम, बाल विवाह, बहुविवाह न्यूनीकरण तथा कानुनी सचेतनाका लागि आइतबार वडा नं ४ बाट कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रम पालिकाले ७ वटै वडामा संचालन गर्ने भएको छ । कार्यक्रम सुरुका लागि जनप्रतिनिधि, कर्मचारी, महिला एवम् सरोकारवालाले सार्वजनिक प्रतिबद्धतामा हस्ताक्षरसमेत गरेका छन् ।
महिला सशक्तिकरण तथा उज्यालो समाज कार्यक्रम सुरु गर्दा प्रशिक्षकबाट बालबालिकाको शिक्षामा महिला अभिभावकको भूमिका, आत्मविश्वास र सीप, क्षमता विकास, बालविवाह, लैंगिक हिंसा र कानुनी सचेतना एवम् स्थानीय न्यायिक समितिको अधिकार र पहुँचका विषयमा स्थानीय महिलालाई अभिमुखीकरणसमेत गरिएको थियो ।
छत्रेस्वरी गाउँपालिका उपाध्यक्ष बुद्धाकुमारी खत्रीले महिलालाई आत्मनिर्भर र सक्षम बनाउन सकेमात्र समाज समृद्ध हुने भएकाले कार्यक्रम सुरु गरेको बताइन् । समाजमा अझै पनि बाल विवाह, बहुविवाह, घरेलु हिंसाजस्ता समस्याहरू विगतमा जस्तै जहाँको तही रहेकाले उनले यी समस्याको अन्त्य गर्न महिलाहरुलाई कानुनी ज्ञान र आत्मविश्वासको जरुरी रहेको जानकारी गराइन् ।
‘विगतमा महिलाहरु कम पढेका र सचेतनाको अभावमा माथि उठ्न सकेनन् । विभिन्न किसिमका शोषण र दमनको सिकार भए । कार्यक्रमबाट अब महिलाहरु शोषण, दमन, हिंसाको सिकार बन्दैनन्,’ उनले भनिन्, ‘जब महिला शिक्षित हुन्छन् सुरुवातमा घर उज्यालो हुन्छ । त्यसपछि समाज उज्यालो हुन्छ । घर, समाज उज्यालो भयो भने दमन, शोषण, हिंसालगायत सबै समस्या समाधान हुन्छन् ।’ आउँदा दिनमा महिलामाथि दमन शोषण, बालविवाहजस्ता घटना घटेको पाइएमा कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ ।
बालविवाह, बहुविवाह तथा लैंगिकताको आधारमा हुने सबै प्रकारको हिंसा र अपराधलाई अन्त्य गर्नका लागि महिला सशक्तिकरण तथा उज्यालो कार्यक्रममा हातेमालो गरेर सार्वजनिक प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरिएको वडा नं ४ का अध्यक्ष छविलाल खत्रीले जानकारी दिए ।
कार्यक्रमलाई प्रभावकारी बनाउन आफू सक्रिय भएर लाग्ने उनले जानकारी गराए । शिक्षा नै सबैभन्दा महत्वपूर्ण कुरा भएकाले विद्यालयभन्दा बाहिर रहेका बालबालिकालाई विद्यालय पठाउनेमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।
