सल्यानमा आगलागीबाट दुई घर जलेर नष्ट, दर्जन बढी चौपाया मरे

चैत्र ७, २०८१

विप्लव महर्जन

Two houses were destroyed by fire in Salyan, more than a dozen animals died

सल्यान — बुधबार राति आगलागीबाट सल्यानमा दुईवटा घरगोठ जलेर नष्ठट भएका छन् ।

जिल्लाको कालिमाटी गाउँपालिका–२ खैरीगाँडाका ४० वर्षीय केशलाल ओली र ५२ वर्षीय प्रेम विकको घरगोठ आगलागीबाट जलेर नष्ट भएको हो । 

आगालगीका कारण घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडा जलेका छन् । केशलाल ओलीको गोठमा रहेका एक गोरु, ११ खसीबाख्रा, दुई दर्जन बढी खुकुरा जलेर बरेका छन् । 

आगलागीपछि परिवारले भने भागेर ज्यान जोगाएका छन् । आगलागीबाट केशलालको तीन लाख र प्रमेको साढे तीन लाख गरी अनुमानित ६ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्लला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए ।

यस्तै प्रेम विकको घरभित्र रहेको १७ हजार रुपैयाँ नगद, दुई हाँस, ६ वटा कुखुरा, अन्नपात, लत्ताकपडा, भाँडाकुडा जलेर नष्ट भएको प्रहरी निरीक्षक खत्रीले बताए ।

गोठमा लागेको आगो घरसम्म पुगेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।  

स्थानीय मोतिलाल ओलीले रातिको समयमा आगलागी भएपछि सबै गाउँले मिलेर  आगो नियन्त्रणमा लिने प्रयास गरे पनि असफल भएको बताए । 

पीडित परिवारलाई अहिले आफन्तकहाँ राखिएको उनले जानकारी गराए । सुरुमा फुसको दुई तले गोठमा लागेको आगोकै कारण नजिकको अर्को घर पनि जलेको उनको भनाइ छ ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully