अखिल क्रान्तिकारीको तालाबन्दीपछि कालिकोटको कोटवाडा क्याम्पसको निर्वाचन स्थगित

चैत्र ५, २०८१

तुलाराम पाण्डे

Kotwada Campus Elections in Calicut Postponed After Lockdown of All Revolutionaries

कालिकोट — नरहरिनाथस्थित नन्दादेबी बहुमुखी क्याम्पस कोटवाडाको स्ववियु निर्वाचन स्थगित भएको छ ।

क्याम्पसमा असहज वातावरण निर्माण भएको जनाउँदै निर्वाचन अधिकृत कमल प्रसाद सापकोटाले गएराति १० बजे सूचना प्रकाशित गरेर स्ववियु निर्वाचन स्थगित गरेका हुन् । 

क्याम्पसमा भएको असहज वातावरणका कारण अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ।

नेविसंघ र अनेरास्ववियुको गठबन्धनले २०० विद्यार्थीको भोटर कार्ड एकमुष्ट बुझेर लिएको जनाउँदै अखिल क्रान्तिकारी र समाजवादी अखिलले ४ गते दिउँसो क्याम्पसमा तालाबन्दी गरेका थिए ।

दुई ठूला विद्यार्थी संगठन मिलेपछि हार्ने डरले क्याम्पसमा तालाबन्दी गरेर अखिल क्रान्तिकारी धाँधलीमा उत्रिएको कांग्रेस नरहरिनाथका सभापति राम बहादुर बटालाको प्रतिक्रिया छ ।

विद्यार्थीको चुनावमा सत्ताको दुरुपयोग गरेर धाँधली गर्न सम्बन्धित विद्यार्थीले बुझेर लिनुपर्ने २०० जनाको भोटर कार्ड एकै जनाले लिएको माओवादी केन्द्र नरहरिनाथका अध्यक्ष मनशोभा बुढाले बताइन् ।

उनका अनुसार ४२५ मतदाता रहेको क्याम्पसमा २०० नेविसंघ र १५० कार्ड अनेरास्ववियुले कब्जा गरेकाले बाध्य भएर अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो । भोटर कार्ड क्याम्पसमा फिर्ता भएपछि मात्र ताला खोलिने स्ववियु सभापतिका उम्मेदवार यशोदा शाहीले बताइन् ।

यहाँको सान्नी त्रिवेणीस्थित जनचेतना बहुमुखी क्याम्पसमा भने ९ बजेदेखि निर्वाचन सुरु हुनेछ ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully