सल्यान — जिल्लाको त्रिवेणी गाउँपालिकाले पालिकाभरका ९ सय बढी ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ ।
ज्येष्ठ नागरिक संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत पालिकाले ज्येष्ठ नागरिकलाई परिचय पत्र र सम्मान गरेको हो ।
पालिकाले सबै वडाका ज्येष्ठ नागरिकलाई वडा नं ६ को लुहामबजार स्थित त्रिवेणी तिर्थशाला थाममा उपस्थित गराई नि:शुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आँखा, नाक, कान घाँटी, लगायत अन्य रोग सम्बन्धी परीक्षणसमेत गरेको थियो भने जटिल समस्या भएका सय जना बढीलाई नि:शुल्क उपचारका लागि रेफरसमेत गरेको थियो ।
कार्यक्रममा सबै ज्येष्ठ नागरिकलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, भौतिक पूर्वाधारमन्त्री शेरबहादुर बुढा, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारी लगायतले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
पछिल्नो समयमा ग्रामीण क्षेत्रमा युवा पुस्ता सबै विदेश गएकाले वृद्धवृद्धा मात्र भएका र उनीहरु बाहिर जान नसक्दा विभिन्न किसिमको सेवाबाट वञ्चित हुँदै आएकाले सबैलाई एकै स्थानमा बोलाएर उनीहरुको स्वास्थ्य परीक्षणका साथै ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको त्रिवेणी गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले बताए ।
सबैलाई एकै स्थानमा राखेर विभिन्न किसिमको सेवा दिँदा ज्येष्ठ नागरिकले लामो समयदेखि भेटघाट हुन नसकेका आफन्तसँग पनि भेट गरेका छन् ।
उनका अनुसार पालिकाका ६ वडामा ९ सय ३२ ज्येष्ठ नागरिक छन् । कार्यक्रममा ७ सय बढी सहभागी भएका थिए । कार्यक्रममा सहभागी हुन नसकेका सबैलाई घरघरमै गएर सम्मान, परिचय पत्र वितरण गरिने छ भने घरघरमै नि:शुल्क स्वास्थ्य परीक्षण गरिने छ ।
ज्येष्ठ नागरिक परिचय पत्रले उनीहरुलाई गाडीमा यात्रा गर्दा लाग्ने शुल्कमध्ये आधा छुट पाउने र अन्य हरेक किसिमका सुविधा पाउने उनको भनाइ छ ।
यही आर्थिक वर्षमा ज्येष्ठ नागरिक संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत ७ लाख विनियोजन गरेकोमा सोही बजेटमार्फत ज्येष्ठ नागरिकलाई सम्मान, ज्येष्ठ नागरिक परिचय पत्र वितरण र नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले बताए ।
