तथ्यमा आधारित विषयमा मात्रै कलम चलाउन जरूरी : मुख्यमन्त्री कँडेल

चैत्र १, २०८१

तृप्ति शाही

It is important to use the pen only on factual matters: Chief Minister Kandel

वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पत्रकारले तथ्यमा आधारित उत्साहित हुने विषयमा कलम चलाउनुपर्ने बताएका छन्। 

नेपाल पत्रकार महासंघ कर्णालीले प्रदेशका पत्रकार महिलाहरूको लागि गरेको तिन दिने तालिमको उद्घाटनमा उनले प्रदेश सरकारले पत्रकारका लागि ल्याएका कार्यक्रमलाई सदुपयोग गर्नुपर्ने सुझाव दिए ।

कर्णाली प्रदेशको आमसञ्चार विधेयक प्रति लक्षित गर्दै उनले अधिकारको लागि भन्दा हैसियत र संरचनामा ध्यान जाँदा विधेयक नै विवादित हुँदै गएको बताए । उनले भने, 'अधिकारका लागि प्रदेश सरकार असहमत छैन।सुविधा र संरचनालाई मितव्ययी बनाऊँ भन्ने उद्देश्य हो ।'

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले कर्णालीको सञ्चारमाध्यमलाई टिकाउनको लागि यहाँकै स्थानीय र प्रदेश सरकारको दायित्व भएकोले नीति बनाएर काम गर्नुपर्ने आवश्यकता भएको बताइन् । पत्रकारको क्षमता अभिवृद्धि र सञ्चार गृहको आर्थिक अवस्था मजबुत बनाउनको लागि प्रदेश सरकारले काम गर्नुपर्नेमा जोड दिइन् । नवीकरणको कामको लागि पत्रकारले काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य गर्नमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताइन् ।

सञ्चारिका समूह कर्णालीकी अध्यक्ष सीता वलीले पत्रकार महिलाले सुरक्षित वातावरण, समान तलब र कामको लागि सम्बन्धित निकायले सहयोग गर्नुपर्ने बताइन् । पत्रकार महिलाले सञ्चालन गरेका मिडिया हाउस देखी संस्थाहरूलाई सरकारले प्राथमिकता दिनुपर्ने धारणा राखिन् । 

पत्रकार महिलाहरूको लागि व्यावसायिक र जवाफदेही पत्रकारितामा लैङ्गिक संवेदनशीलतासम्बन्धी तिन दिने तालिम शुक्रबारबाट वीरेन्द्रनगरमा सुरु भएको छ ।

पत्रकार महासंघ कर्णालीका अध्यक्ष विष्णु शर्माले पत्रकार सबैका चुनौती भए पनि महिलालाई बढी भएकोले यो तालिमको आयोजना गरिएको बताए । पत्रकारको क्षमता विकासको लागि महासंघले काम गरिरहेको उनले बताए ।

महासंघका महासचिव खगेन्द्र भट्टराईले तालिमले व्यावसायिकतामा दक्षता हासिल गर्न सहयोग पुग्ने बताए । उनका अनुसार तालिममा पत्रकार महिलाका चुनौती र अवसरबारेमा छलफल हुनेछ । आफू सुरक्षित रही कसरी काम गर्ने भन्ने विषयमा अनुभव आदानप्रदान हुने उनले बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully