सल्यान — दुर्गम बस्तीबाट गम्भीर बिरामी, गर्भवती, दुर्घटनामा परेर गम्भीर घाइते भएकालाई आकस्मिक उद्धारका लागि स्थानीय तहको आर्थिक तथा नेपाली सेनाको प्राविधिक सहयोगमा जिल्लाका १० स्थानीय तहमा नाइटभिजनसहित निर्माण गरिएको हेलिप्याड प्रयोगविहीन भएका छन्।
सरकारले दुर्गम बस्तीमा एयर एम्बुलेन्स सुरु गरेपछि गम्भीर खालका बिरामीको उपचारमा सहज होस् भन्दै स्थानीय तहको आर्थिक सहयोगमा नेपाली सेनाले हेलिप्याड निर्माण गरे पनि दुर्घटनामा परेका लगायत गम्भीर खालका बिरामीलाई सबैले एम्बुलेन्समा लग्न थालेपछि प्रयोगविहीन भएका हुन्।
नेपाली सेनाले स्थानीय तहको आर्थिक सहयोगमा चार वर्षपछि हेलिप्याड निर्माण गरेको थियो। स्थानीय तहले कतै एक लाख र कतै त्यो भन्दा बढी पनि खर्च गरेका थिए। स्थानीय तहले हेलिप्याड निर्माणको लागि गरेको खर्च त्यत्तिकै खेर गएको छ।
स्थानीय तहको आर्थिक र नेपाली सेनाको प्राविधिक सहयोगमा तत्काल गम्भीर बिरामीको उद्धारका लागि दुर्गममा हेलिप्याड निर्माण गरे पनि पछिल्लो समयमा जिल्लाका सबै स्थानमा सडक पुगिसकेका र सवारीसाधन गाउँ गाउँ पुग्न थालेपछि बिरामीलाई सबैले गाडी तथा एम्बुलेन्समा लग्न थालेको कारण प्रयोगमा आउन नसकेको बागचौर नगरपालिका २ वडा अध्यक्ष दीपेश डीसीले बताए। उनले बागचौर नगरपालिका २ अग्ला टाकुरा स्थित भ्यु टावर परिसरमा २०७७ मा हेलिप्याड बनेको जानकारी गराए। ‘हेलिप्याड निर्माणमा कति खर्च लाग्यो त्यो थाहा भएन,’ उनले भने।
हेलिप्याड निर्माण गरेको चार वर्ष भइसके पनि अहिलेसम्म एउटा हेलिकप्टर नबसेको उनको भनाइ छ। नेपाली सेनाले पालिकाको आर्थिक सहयोगमा दार्मा गाउँपालिकाको वडा नं २ र ३ को सिमानामा पर्ने मौलेखालीमा हेलिप्याड निर्माण गरे पनि हेलिकप्टरमा लग्नुपर्ने अवस्थाका बिरामी नभएकाले अहिलेसम्म प्रयोगमा आउन नसकेको पालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए।
‘नेपाली सेनाले जिल्लाका स्थानीय कसैले उपचारको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् भनी तत्काल उद्धार गर्न हेलिप्याड निर्माण गरेर धेरै राम्रो काम गरेको थियो। पछिल्लो समयमा तत्काल उद्धार गरेर उपचारका लागि लैजानुपर्ने बिरामी छैनन्। गम्भीर खालका बिरामी भएकाले कतिले हेलिकप्टरमा लग्न सक्दैनन्। त्यसैले बिरामी भएका सबै एम्बुलेन्समा जान्छन्। त्यसैले प्रयोगमा नआएको हुनसक्छ,’ उनले भने।
निर्माण गरिएको हेलिप्याड पहिला जस्तो थियो अहिले पनि त्यस्तै रहेको रहेको उनको भनाइ छ। छत्रेश्वरी गाउँपालिका इन्जिनियर राजाराम रिजालले पालिकाको वडा नं ७ मा नेपाली सेनाले हेलिप्याड निर्माण गरे पनि अहिलेसम्म बिरामी उद्धारका लागि आवश्यक परेको जस्तो नदेखिएको बताए। राजमार्ग नजिकै भएकाले अधिकांश गाडीमै बिरामी लिएर उपचारका लागि जाने गरेका उनले जानकारी गराए।
‘आकस्मिक घटना घटेपछि परिवार आत्तिएका हुन्छन्। जतिसक्दो छिटो अस्पताल पुर्याउन खोज्छन्। सबैलाई हेलिकप्टरमा लैजानुपर्छ भन्ने सोच आउँदैन र झटपट गाडी नै खोज्छन्। त्यसैले पनि प्रयोगमा नआएको हुनसक्छ,’ उनले भने।
सिद्धीबक्स गण सिमखर्क सल्यानका गणपति कृष्ण ठकुल्लाले गम्भीर खालका बिरामी तत्काल उद्धारका लागि स्थानीय तहको आर्थिक र सेनाको प्राविधिक सहयोगमा हेलिप्याड निर्माण गरे पनि तत्काल उद्धार गर्नुपर्ने जस्ता घटना २०७७ पछि त्यति नघटेका र दुर्घटनामा परेका गम्भीर घाइतेलाई आफन्तले गाडीबाटै अस्पतालसम्म पुर्याउँदै आएकाले प्रयोगमा आएको नदेखिएको बताए।
तत्काल उद्धार गर्नलाई आर्थिक भार बढी पर्ने भएकाले पनि जिल्लावासीले गाडी नै प्रयोग गरेको देखिएको उनले जानकारी गराए।
