सल्यान — सल्यानमा खरबारीमा लागेको आगो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका-३ तिमिलेचौर निवासी वर्ष ६५ का प्रेमबहादुर बस्नेतको मृत्यु भएको हो ।
शुक्रबार दिउँसो ३ बजेतिर अचानक घर नजिकै खरबारीमा लागेको आगो निभाउने क्रममा लडेपछि जलेका बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए ।
अहिले इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको र शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याउने तयारी भैरहेको प्रनि बस्नेतले जानकारी गराए ।
वडाध्यक्ष कर्णदेब डाँगीले बस्नेत श्रीमतीसँगै घर नजिकैको खरबारीमा घाँस काट्न गएका बेला खरबारीमा आगलागी भएपछि जलेको बताए ।
यस्तै बिजुली सर्ट भएर जिल्लाको कपुरकोट गाउँपालिका-६ रातामाटाका देविराम बोहराका घर जलेर नष्ट भएको छ । घटनामा ५२ हजार नगदसहित ४ लाख बराबरको क्षति भएको प्रनि बस्नेतले बताए । दुई घरमा लागेको आगोका कारण खाद्यान्न, लत्ताकपडा र नगद जल्दा ६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बस्नेतले बताए ।
