सल्यान — जिल्लाको त्रिवेणी गाउँपालिका-३ ढुंगीबजार नजिकै मापदण्डविपरीत सञ्चालित क्रसर बन्द गर्न स्थानीय, बजार व्यवस्थापन समिति र राजनीतिक दलले संयुक्त रुपमा माग गरेका छन् ।
क्रसरले ध्वनि, वायु प्रदूषण फैलाउनुका साथै स्थानीयको स्वास्थ्यमा असर पार्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी, गाउँपालिका र वडा नं ३ को वडा कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझ्दै जिल्ला प्रहरी प्रमुख केशरकुमार न्यौपानेले उक्त क्रसर उद्योगविरुद्धको उजुरी गृह मन्त्रालयसम्म पुगेको तर कुनै निर्देशन नआएको बताए । जथाभावी नदी दोहन नियन्त्रणको काम प्रहरीको भएकाले सोही अनुसार स्थानीय प्रहरीलाई निर्देशन दिइएको उनको भनाइ छ ।
बालुवा वासिङ कम्पनीको नाममा दर्ता गरेर बगेश्वरी एग्रो प्रालिले राजनीतिक संरक्षणमा ढुंगीबजार नजिकै क्रसर उद्योग सञ्चालन गरेको र मापदण्डविपरीत डोजर प्रयोग गरेर शारदा नदी दोहन गरेको स्थानीय तथा दलका नेताको आरोप छ । क्रसर उद्योग बस्तीदेखि ५ सय मिटर टाढा हुनुपर्नेमा करिब १ सय ५० मिटरको दुरीमा रहेकाले नजिकैका दुई विद्यालय, प्रसूति गृह, दुई सामुदायिक वनमा प्रत्यक्ष असर पुगेको उनीहरुको भनाइ छ ।
झन्डै ६ वर्षअघि बालुवा वासिङ उद्योगका नाममा दर्ता गरे पनि अहिले क्रसरकै रुपमा सञ्चालनमा आएको बजार व्यवस्थापन समितिका अध्यक्ष रनवीर ओलीले बताए । पटकपटक बन्द गर्न माग राख्दै आए पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । ‘दुई वर्षअघि गृह मन्त्रालयले अवैध रुपमा सञ्चालित क्रसर बन्द गर्न निर्देशन दिएपछि केही महिना बन्द भएको थियो । अहिले पुन: सञ्चालनमा आएको छ,’ उनले भने ।
त्रिवेणी गाउँपालिकाका नेकपा समाजवादीका अध्यक्ष कुलबहादुर भण्डारीले राजनीतिक दलकै आडमा क्रसर उद्योग बन्द हुन नसकेको आरोप लगाए ।
खोला तथा नदीबाट बालुवा, गिटी उत्खननको जिम्मा पालिकाले पाएको र अनुगमनको जिम्मा समन्वय समितिलाई भएकाले उनीहरुसँग समन्वय गरेर अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन् । मापदण्डविपरीत भएको पाइएमा बन्द गरिने उनको भनाइ छ ।
जिल्ला समन्वय समिति उपप्रमुख असवीर बुढाथोकीले उक्त क्रसर उद्योगको उजुरी पहिला पनि आएको र त्यसबारेमा कुनै सुनवाइ नभएको बताए । जिल्लामा अधिकांश स्थानमा अहिले विकास निर्माण परियोजनाका लागि क्रसर सञ्चालनमा आएका र तिनीहरु पनि सबै मापदण्डअनुसार नभएको उनको भनाइ छ ।
त्रिवेणी-३ का वडाध्यक्ष कर्णदेव डाँगीले ढुंगीबजार नजिकै सञ्चालित क्रसर बालुवा वासिङ उद्योगका नाममा अहिले पनि सम्बन्धित निकायमा दर्ता भएको बताए । गाउँपालिकाको १५ श्य्याको अस्पताल र पालिकाको भवन निर्माणका लागि आवश्यक सामग्री उत्पादन गर्न करिब डेढ वर्षदेखि क्रसरको रुपमा सञ्चालन भएको उनले तर्क गरे । 'योजनाको काम सम्पन्न भएपछि क्रसर बन्द हुन्छ,' उनले भने ।
