गुठीचौरका विपन्न दलितलाई नि:शुल्क ग्यास चुल्हो

फाल्गुन २६, २०८१

डीबी बुढा

Free gas stoves to poor Dalits of Guthichaur

जुम्ला — जिल्लाको गुठीचौर गाउँपालिकाको वडा नम्बर १ ले आफ्ना वडाका विपन्न दलित परिवारका हरेक घरमा नि:शुल्क ग्यास चुल्हो विवरण सुरु गरेको छ । वन जंगल संरक्षण र धुँवाबाट जोगाउनका लागि एक घर एक ग्यास चुल्हो वितरण कार्यक्रम सुरु गरेको हो ।

पहिलो चरणमा वडा नम्बर १, डिल्लीकोटका ५० विपन्न दलित परिवालाई विवरण गरिएको छ । गाउँपालिका उपाध्यक्ष शान्ति मल्ल भण्डारीले डिल्लीकोट गाउँमै पुगेर ग्यास र चुल्हो वितरण गरिन् । 

वडाध्यक्ष अर्जुन महताराले वातावरण संरक्षण तथा वन जंगल बचाउनका लागि ग्यास चुल्हो बाँडिएको बताए । घरघरमा ग्यास पुगेपछि स्थानीयले दाउरा संकलन गर्नु नपर्ने उनको भनाइ छ । वर्षौंदेखि दाउराको धुँवामा खाना पकाउनुपरिरहेको अवस्थाबाट केही दिनका लागि भए पनि मुक्ति पाइने स्थानीय लालकोशा कामीले बताइन् । 

हाल चुल्हो वितरण गरिएको उक्त गाउँमा दलित समुदायको मात्र बसोबास रहेको छ । वडाध्यक्ष महताराले दलित लक्षित कार्यक्रमले ग्यास चुल्हो बाँडिएको बताए । 

आर्थिक अवस्था कमजोर भएका दलित परिवारलाई ग्यास सिलिन्डर र चुल्हो दिइएको छ । दाउराको खपत घट्ने र वन फडानी रोकिने वडा कार्यालयले विश्वास गरेको छ । 

उनका अनुसार ५ लाख रुपैयाँ बराबरको ग्यास चुल्हो बाँडिएको हो । स्थानीय चन्द्र सार्कीले नि:शुल्क रुपमा ग्यास चुल्हो पाउँदा खुसी लागेको बताए । उनले भने, ‘अहिले जताततै ग्यास चुल्होको पहुँच पुगिरहेको बेला वडा सरकारले हामीलाई पनि दिएको छ । अब हामी सधैं ग्यास नै प्रयोग गर्छौं ।’

गुठिचौर गाउँपालिका उपाध्यक्ष भण्डारीले वडाले वातवरण संरक्षणको विकल्पका रुपमा ग्यास चुल्हो कार्यक्रम अनुकरणीय भएको बताइन् । उनले भनिन्, ‘यसले वातवरण संरक्षणमा टेवा पुग्नेछ । यो कार्यक्रम पनि निकै उपयोगी छ ।’

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully