दसौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय उद्घाटन

फाल्गुन २५, २०८१

तृप्ति शाही

Inauguration of the Main Organizing Secretariat for the 10th National Games

वीरेन्द्रनगर — दसौं राष्ट्रिय खेलकुदका लागि मूल आयोजक सचिवालय उद्घाटन गरिएको छ । आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको रंगशाला परिसरमा सचिवालयको उद्घाटन गरिएको हो ।

आगामी जेठ ३ देखि १० गतेसम्म कर्णालीमा दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदै छ । युवा तथा खेलकुदमन्त्री एवं मूल आयोजक समिति संयोजक तेजुलाल चौधरी, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी लगायतको सहभागितामा सचिवालय उद्घाटन गरिएको छ ।

मन्त्री चौधरीले अब निर्धारित समयमा प्रतियोगिता सञ्चालन हुने बताए । 'पूर्वनिर्धारित समयमा प्राविधिक कारणले हुन सकेन,' उनले भने, ‘कर्णाली प्रदेशको खेलकुदलाई साहसिलो कदमका रूपमा लगानी गरिएको छ । रंगशाला लगायतका खेल पूर्वाधार निर्माण गरिएको छ ।’ टेन्डर प्रक्रिया, समिति गठन, खरिद लगायतका आवश्यक कार्यमा काम भइरहेको उनले जानकारी दिए ।

मुख्यमन्त्री कँडेलले निर्धारित समयमा प्रतियोगिता सञ्चालन गर्न जिम्मेवार व्यक्तिहरू अलमल हुन नमिल्ने बताए । जेठको महिना खेलकुद प्रतियोगिताको लागि मौसम अनुकूल नहुनेमा आशंका उठिरहेको भन्दै उनले खेलसम्बद्ध व्यक्तिले सकारात्मक धारणा जोगाउनुपर्नेमा जोड दिए ।

सचिवालय उद्घाटनसँगै प्रतियोगिता निर्धारित समयमा सञ्चालन हुने विश्वास जागेको सामाजिक विकासमन्त्री धनश्याम भण्डारीले बताए । ' कर्णालीले राष्ट्रियस्तरको कार्यक्रम सञ्चालन गर्न सक्छ भन्ने सन्देश जानेगरी सकारात्मक धारणा बनाउन आग्रह गर्छु,' उनले भने, 'यो प्रतियोगिताले कर्णालीको खेलकुदको सम्भावना र खेलाडीको प्रतिभा पहिचान हुनेछ ।’

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully