सुर्खेत — जाजरकोटको रिम्नामा भूकम्पीय पुनर्निर्माण कार्यालय स्थापना भएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार जाजरकोटको भेरी नगरपालिका-१ रिम्नामा स्थापना भएको भूकम्पीय पुनर्निर्माण कार्यालयको उद्घाटन गरेका हुन् ।
जाजरकोट, रुकुम पश्चिम र सल्यानका भूकम्पपीडितका निजी आवास पुनर्निर्माण र मर्मत कार्यलाई तीव्रता दिन जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन इकाइको स्थापना भएको हो ।
‘भूकम्पले पारेको क्षतिको पुनर्निर्माण अभियान सुरु भएको छ,' गृहमन्त्री लेखकले भने, ‘पुनर्निर्माणका लागि आवश्यक मापदण्ड र नियामावलीसँगै आवश्यक बजेट व्यवस्था गरेपछि पुनर्निर्माणको कामलाई तीव्रता दिन जिल्लामै कार्यालय स्थापना गरिएको छ ।’
मन्त्री लेखकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कार्यालय स्थापना गरेर पुनर्निर्माणको काम अघि बढाउन लागेको बताए ।
कर्णाली प्रदेशका अर्थमन्त्री राजीवविक्रम शाहले भूकम्पबाट पूर्ण क्षति भएका घरको पुनर्निर्माणमा सरकार तीव्र गतिमा लागेको बताए ।
