सल्यान — बनगाड कुपिण्डे नगरपालिका-४ डोब्केमा रहेको सल्लेरी सामुदायिक वनले उपभोक्तालाई आयआर्जनका लागि मौरीघार वितरण गरेको छ । समूहमा आबद्ध ६५ जनालाई मौरीघार वितरण गरिएको हो ।
सामुदायिक वनको १ लाख ४ हजार र पारिस्थितिकीय प्रणाली परियोजनाको ६ लाख ७५ हजार रकमबाट आधुनिक मौरीघार लगायतका सामग्री वितरण गरिएको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्र बुढाथोकीले बताए ।
'डोब्केका चारैतिर जंगल र चरनक्षेत्र भएकाले मौरीपालनका लागि उपयुक्त छ । स्थानीयले मौरीपालनलाई व्यावसायिक रुपमा अघि बढाउन सकून् भनेर घार वितरण गरिएको हो,' उनले भने ।
परम्परागत घारमा मौरीपालन गर्दै आएका बलबहादुर बुढाथोकीले सामुदायिक वनले आधुनिक घार उपलब्ध गराएर केही राहत भएको बताए ।
वडा नं ४ का अध्यक्ष पुष्कर बुढाले सामुदायिक वनले उपभोक्तालाई घार वितरण गरेर आयआर्जनतर्फ प्रोत्साहन गरेको बताए ।
