सुर्खेतमा यती एयरको परीक्षण उडान

फाल्गुन २४, २०८१

तृप्ति शाही

Test flight of Yeti Air at Surkhet

वीरेन्द्रनगर — यती एयरले सुर्खेतमा परीक्षण उडान गरेको छ । निजी वायुसेवा कम्पनी यतीले शनिबार सुर्खेतमा परीक्षण उडान सम्पन्न गरेको हो । शनिबारै धनगढीमा पनि उडान सम्पन्न गरिएको यती एयरलाइन्सले जनाएको छ ।

यतीको ९ एन–एएमएन एटीआर ७२ विमानले सफलतापूर्वक परीक्षण उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

परीक्षण उडानलाई एयरलाइन्सका प्रशिक्षक पाइलटहरु क्याप्टेनद्वय समर्थरत्न तुलाधर र राजु राजवंशीले उडान भरेका थिए । उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक तथ प्रतिनिधिहरुको टोली पनि थिए ।

सुर्खेत र धनगढी विमानस्थलहरुमा निकट भविष्यमा नियमित उडान गर्ने तथा वैकल्पिक विमानको रुपमा प्रयोग गर्ने उद्देश्यले परीक्षण उडान गरिएको प्रवक्ता बर्तौलाले बताए । परीक्षण उडानको रिपोर्टको आधारमा नियमित उडान गर्ने तयारी गरेको उनले बताए । 

यात्रुहरुको मागलाई ध्यानमा राखी उडानको दायरा बढाउँदै बजार विस्तार गर्ने उद्देश्य लिएको यती एयरलाइन्सका एकाउन्टेवल म्यानेजर तथा प्रमुख व्यापार अधिकृत युवराजकुमार विष्टले बताए । विमानस्थलहरुमा हुने नियमित उडान सँगै यती एयरलाइन्स प्रतिको यात्रुहरुको विश्वास बढ्ने धारणा राखे ।

फागुन २० गते एयरलाइन्सले राजविराज विमानस्थलमा पनि सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिसकेको जनाएको छ । सुर्खेतमा बुद्ध र श्रीयरलाइन्सले उडान भर्दै आएका छन् ।

तृप्ति शाही शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully