सुर्खेत — मध्यपश्चिम विश्वविद्यालयले शैक्षिक कार्यक्रम सुरु गरेको १२ वर्षमा शुक्रबार तेस्रो दीक्षान्त समारोह गर्दैछ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा दोस्रो दीक्षान्त भएको झन्डै ३ वर्षपछि तेस्रो दीक्षान्त समारोह हुन लागेको हो । जसमा २०७९ सालदेखिका ३ हजार ८ सय ४१ विद्यार्थी दीक्षित हुँदैछन् ।
विश्वविद्यालयअन्तर्गत ७ वटा केन्द्रीय विभाग, १० वटा आङ्गिक कार्यक्रम र १ वटा विशेष कार्यक्रम सञ्चालनमा छन् । विश्वविद्यालयअन्तर्गत झन्डै १२ हजार विद्यार्थी अध्ययनरत छन् । विश्वविद्यालयले ९ वटा विषयमा स्नातक र १३ वटा विषयमा स्नातकोत्तर अध्यापन गराउँदै आएको छ ।
तर विश्वविद्यालयले कार्यक्रमको व्यवस्थापन नगर्दा लामो अवधिमा दीक्षान्त समारोह हुने गरेको हो । दीक्षान्त समारोह विद्यालयको नियमित कार्यक्रम भएकाले हरेक वर्ष गर्दा त्यसले विश्वविद्यालयको गरिमा बढाउने विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकालले बताए । ‘विश्वविद्यालयको प्रशासन र रेपुटेसन पनि दिक्षान्तसँग जोडिएको हुन्छ,’ उनले भने, ‘हरेक वर्ष उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्ने र सक्कली प्रमाणपत्र दिनुपर्ने हो, तर ४/५ वर्षपछि प्रमाणपत्र दिनु जायज होइन ।’
दीक्षान्त समारोह विद्यार्थीका लागि उत्सव र उत्साह भएको विश्वविद्यालयबाट २०७९ सालमा स्नातकोत्तर उत्तीर्ण गरेका सुर्खेतको वीरेन्द्रनगर-१३ का गोविन्द पौडेलले बताए । उनले समयमै दीक्षान्त हुँदा राम्रो सन्देश जाने बताए ।
दीक्षान्त समारोहको प्रमाणपत्र समयमा नपाउँदा विद्यार्थीको वृत्ति विकासमा पनि समस्या भइरहेको शिक्षाविद् मीनबहादुर पुन बताउँछन् । ‘उत्तीर्ण भएकै वर्ष दीक्षान्त हुँदा विद्यार्थीमा ठूलो उत्साह हुन्छ, शैक्षिक उपाधि हासिल गर्नु व्यक्तिको सफलतासँग जोडिएकाले ताजा हुँदा गाउन र टोपी लगाउन पनि विद्यार्थी उत्साही हुन्छन्,’ उनले भने, ‘पुरानो हुँदा उत्साह पनि घटिसकेको हुन्छ, यो त विद्यार्थीको मनोविज्ञानसँग पनि जोडिएको विषय हो ।’
यही कुरालाई पुष्टि गर्छ, तेस्रो दीक्षान्त समारोहका लागि फाराम भरेका विद्यार्थीको संख्याले पनि । यो वर्ष ३ हजार ८ सय ४१ जना सहभागी हुने विश्वविद्यालयले जनाएको छ । तर ८ सय ८५ जनाले मात्र फाराम भरेका छन् । विदेश गएका, देशभित्रै विभिन्न ठाउँमा जागिर गरिरहेका र कतिपयले सूचना नपाएर पनि फाराम नभरेको हुनसक्ने विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. शोभा खर कँडेलले बताए ।
विश्वविद्यालयको दोस्रो दीक्षान्त २०७९ वैशाख ६ गते तत्कालीन सहकुलपति एवं शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा भएको थियो भने नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थी प्रमुख वक्ताका रूपमा सहभागी थिए । त्यस्तै तत्कालीन कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा भएको २०७४ सालमा भएको पहिलो दीक्षान्तमा मुम्बई विश्वविद्यालयका उपकुलपति प्राडा सञ्जय देशमुखलाई बोलाइएको थियो ।
यस वर्ष सिक्किम विश्वविद्यालय भारतका संस्थापक उपकुलपति प्रा.डा. महेन्द्र पी लामा प्रमुख वक्ताको रूपमा उपस्थित हुने विश्वविद्यालयका डीन लिलाधर तिवारीले बताए । ‘विश्वविख्यात व्यक्तिलाई दीक्षान्त समारोहमा बोलाउँदा अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न सहयोग गरिरहेको छ,’ उनले भने, ‘उनीहरूले बोल्ने कुराले पनि धेरै अर्थ राख्छ ।’
उपकुलपतिले समय नदिने, सिनेट बैठक नियमित नबस्ने, समयमै उपकुलपति र रजिस्ट्रार नियुक्त नहुने, विश्वविद्यालयले कार्यक्रमको व्यवस्थापन गर्न नसक्नेलगायत कारण दीक्षान्त समारोह लामो समयपछि हुने गरेको विश्वविद्यालयका रजिस्ट्रार कँडेलले बताए । ‘बर्सेनि दीक्षान्त समारोह गर्ने गरि समय तालिका बनाइएको छ,’ उनले भने, ‘यो वर्षदेखि दीक्षान्त समारोहलाई थप व्यवस्थित गर्ने प्रयासमा छौ ।’
संघीय संसद्बाट २०६७ असार ३ गते मध्यपश्चिम विश्वविद्यालय ऐन २०६७ जारी भएर सञ्चालनमा आएको विश्वविद्यालयले २०६९ देखि शैक्षिक कार्यक्रम सुरु गरेको थियो ।
