वीरेन्द्रनगर — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कार्यसम्पादनमा अब्बल भएर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । प्रदेश सरकारअन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट अधिकृत सातौँमा नियुक्त भएका अधिकृतहरूसँग आयोजित कार्यक्रममा उनले सेवा प्रवाहमा पक्षधरताभन्दा कार्यसम्पादनलाई प्रमुख ठानेर काम गर्नुपर्ने बताए ।
समाजमा कर्मचारी र राजनीतिक नेतृत्वप्रति हेर्ने दृष्टिकोण सकारात्मक छैन । उनले भने,'अब सबै तहका कर्मचारीहरुले समाजलाई सकारात्मक दृष्टिकोण बनाउने गरी काम थाल्नु पर्नेछ । हिजोको जस्तो छैन, नागरिक सचेत भइसकेका छन, तपाईहरुको कामको मूल्यांकन नागरिकस्तरबाटै भइरहेको छ ।’
समाजलाई देखाउने नाममा गलत काम गरेर आर्थिक हैसियत बढाउने काममा नलाग्न सुझाव दिए । सरकारका नीतिगत निर्णयमा राजनीतिक नेतृत्व जिम्मेवार भए पनि निर्णय कार्यान्वयन गर्ने प्रमुख दायित्व कर्मचारी संयन्त्रको भएकोले कर्मचारीको कार्यसम्पादनबाटै सरकारको उपलब्धि देखिने पनि बताए ।
