हिउँपातले नाग्म–गमगढी सडक ठप्प

फाल्गुन १७, २०८१

डीबी बुढा

Nagm-Gamgadhi road blocked due to snowfall

जुम्ला — दुई दिनदेखि परेको वर्षासँगैको हिमपातले नाग्म–गमगढी सडक खण्ड ठप्प भएको छ । जुम्ला खण्डको भुलभुले नजिकै पहिरो गएको र सातमोडमा बाक्लो हिउँ जमेकोले सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ । हिउँले सडक रोकिएपछि राराताल घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकहरू बीचमै रोकिएका छन् ।

सवारीसाधन आवागमन ठप्प हुँदा जनजीवन निकै प्रभावित बनेको छ । मुगुका सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले हिउँ पन्छाउन सडकमा डोजर प्रयोग भइरहेको बताए । उनका अनुसार शुक्रबारसम्म चारवटा सवारीसाधन बीचमै अलपत्र अवस्थामा थिए । बीचैमा रोकिएका सवारीसाधन तत्काल सञ्चालनमा ल्याउन डोजर लगाइएको उनले बताए । 

उनका अनुसार हिउँ पन्छाउन जुम्लातिरबाट डोजर प्रयोग भएको छ । बाक्लो हिउँ जमेपछि सवारीसाधन रोकिएका छन् । मान्छेहरु हिँडडुल गरेर आउजाउ गर्नसमेत कठिन भइरहेको छ ।

कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य मानिएको रारा ताल जाने पर्यटकहरु बीचैमा रोकिएका छन् । उनीहरुले हिउँ खेल्न पनि तत्काल सडक खुलाउनुपर्ने माग गरिरहेका छन् ।

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीले पहिरो हटाउन डोजरसँगै प्राविधिक जनशक्तिसमेत परिचालन भइसकेको बताए । उनका अनुसार मौसममा सुधार नभएको खण्डमा समय लाग्ने देखिन्छ । तर,  मौसममा सुधार भएको खण्डमा आइतबार बिहानसम्म सडक खुलाउन सकिनेछ । 

'सडक खुलाउने विषयमा निकै गम्भीर बनेर लागिरहेका छौं । तर, वर्षा र हिमपात निरन्तर भएमा केही दिन खुलाउन सकिने अवस्था छैन्,' प्रमुख चौधरीले भने, 'पर्यटकहरुको हिउँ खेल्ने चाहना र स्थानीयको आउजाउ गर्ने धोको पूरा गर्न लागि परेका छौं ।'

उनले हिमपातको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरे । जुम्लाको लेकाली क्षेत्रमा हिमपात भएपनि बेँसी क्षेत्रमा भने वर्षा निकै धेरै भएको छ । हिमपातले जुम्ला लगायतका माथिल्लो कर्णालीमा उडानसमेत ठप्प छ । 

डीबी बुढा बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully