सल्यानमा टिपर र जीप ठोक्किँदा ३ जना घाइते

फाल्गुन १७, २०८१

विप्लव महर्जन

3 people injured when a tipper and a jeep collided in Salyan

सल्यान — सल्यानमा शनिबार बिहान करिब १० बजेतिर जीप र टिपर ठोक्किँदा तीन जना घाइते भएका छन् ।

दाङबाट सिमेन्ट बोकेर जाजरकोट जाँदै गरेको रा१ख २४७२ नम्बरको टिपर र सल्यानको कालिमाटीबाट तुलसीपुरतिर जाँदै गरेको लु.प्र.०१००१ ज ००५ नम्बरको जीप कालिमाटी गाउँपालिका–२ एक्लेबरमा दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । 

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार दुर्घटनामा घाइते हुनेमा कालिमाटी गाउँपालिका–२ का २६ वर्षीय ऋषिराम पंगाली, २५ वर्षीया चन्द्रा आचार्य र दाङको दंगिशरण गाउँपालिका–७ बस्ने ३१ वर्षीया सावित्रा भण्डारी रहेका छन् । 

घाइते सबैको तुलसीपुर उपमहानगरपालिकास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको र सबैको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए । टिपर चालक घोराही उपमहानगरपालिका–१० नारायणपुर घर भएका २५ वर्षीय चन्द्रबहादुर वली र जीप चालक २८ वर्षीय डम्मरबहादुर वली प्रहरीको नियन्त्रणमा रहेका उनको भनाइ छ । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully