दार्मामा बढे ज्वरो र झाडापखालाका बिरामी 

फाल्गुन १६, २०८१

विप्लव महर्जन

Patients with high fever and diarrhea in Dharma

सल्यान — भूकम्प प्रभावित क्षेत्र दार्मा गाउँपालिकामा भाइरल ज्वरो र झाडापखालाका बिरामी बढेका छन् । बालबालिका र बुढाबुढी मात्र नभई वयस्कलाई समेत बिरामले प्रभावित भएका छन । पालिकाका सबै स्वास्थ्यसंस्थामा बिरामीको चाप बढ्न थालेको छ । गम्भीर बिरामी भने पालिकाबाहिरका अस्पताल जान थालेका छन् ।

झाडापखाला भने बालबालिकामा मात्र देखिएको दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए । उनका अनुसार भाइरल ज्वरोका कारण बालबालिकामा निमोनियाको समेत समस्या देखिएको छ । ‘सिटोमाल ट्याब्लेट प्रशस्त भए पनि बालबालिकालाई खुवाउने झोलमा पाइने सिटामोल अभाव भएकाले केही समस्या देखिएको छ,’ उनले भने । पालिकाले खरिद गर्ने औषधि अहिलेसम्म नआएको र प्रदेश सरकारबाट पाउने औषधि पनि अभाव रहेको उनले बताए ।

स्थानीयलाई जतिसक्यो पानी उमालेर धेरै पिउन, स्वास्थ्यसंस्थाका स्वास्थ्यकर्मीसँग सल्लाह लिन, तातो सुप खान सल्लाह दिइएको उनको भनाइ छ । 'अलि बढी समस्या देखिएका बिरामीलाई जिल्ला अस्पताल सल्यान र मिसन अस्पताल चौरजहारी गएर उपचार गराउन भनेका छौं,' उनले भने ।

स्वास्थ्यचौकीका इन्चार्ज यज्ञबहादुर बुढाथोकीले हिजोआज दैनिक २०/२५ जना बिरामी आइरहेको बताए । ‘मौसम परिवर्तनको समयमा खानपिनमा ध्यान दिन नसक्दा र उमालेको पानी नपिउँदा समस्या बढेको छ,' उनले भने ।

भाइरल ज्वरो, झाडापखालाका बिरामी बढे पनि आत्तिनुपर्ने अवस्था भने नभएको ढाकाडाम स्वास्थ्यचौकीका इन्चार्ज दीपक चन्दले बताए । 

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully