सल्यान — १५ औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीबारदेखि सल्यानमा सुरु भएको छ ।
खेलकुद विकास समितिको आयोजना र कुमाख गाउँपालिकाको सह–आयोजनामा जिल्लाको कुमाख गाउँपालिका–२ रुमालगाउँ स्थित नारायण माविको खेलमैदानमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा जिल्लाको शारदा, बाग्चौर, बन्गाड कुपिण्डे नगरपालिका, दार्मा, त्रिवेणी, कपुरकोट, छत्रेस्वरी, कालिमाटी, सिद्धकुमाख र कुमाख गाउँपालिका गरी १० स्थानीय तहका ५ सयभन्दा बढी खेलाडी सहभागी भएका छन् ।
प्रतियोगितामा महिला, पुरुष भलिबल, कब्बडी, एथ्लेटिक्स, तेक्वान्दो, मार्सल आर्टलगायतका अन्य खेल समावेश गरिएको खेलकुद विकास समिति सल्यानका अध्यक्ष खडक आचार्यले बताए । प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने उनले जानकारी गराए ।
राष्ट्रका नाममा खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ सञ्चालन गरिएको रनिङशिल्डमा उत्कृष्ट खेलाडीलाई प्रदेशस्तरीय हुँदै राष्ट्रिय खेलकुदका लागि छनोट गरिने उनको भनाइ छ ।
प्रतियोगिताको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले उद्घाटन गरेका थिए ।
