रारा ताल किनारको एक होटलमा आगलागी

फाल्गुन १५, २०८१

रासस

A fire broke out in a hotel on the shores of Rara Lake

मुगु — रारा तालको किनारमा अवस्थित एक होटलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका  छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पुर्‍याएको  जनाइएको छ ।

नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।  आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पुर्‍याएको थियो । 

प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ । 

रासस

Link copied successfully