जुम्ला — जुम्लाका दुई सय ३३ जना किशोरी पाठ्यघरको क्यान्सरविरुद्धको खोप एचभीपीबाट वञ्चित भएका छन् । उनीहरु गाउँमा नभएकाले खोप लगाउन नसकिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ ।
तथ्यांक अनुसार ६ हजार ७ सय ३९ जना किशोरीलाई खोप लगाउनुपर्ने थियो । तर ६ हजार पाँच सय ६ जनाले मात्र खोप लगाए ।
हिउँदको समयमा विद्यालय बन्द हुने भएकाले कतिपय किशोरीहरु जिल्ला बाहिर जाँदा खोप लगाउन नसकिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।
‘किशोरीहरु जहाँ गएका हुन् । त्यहाँ खोप लगाएका हुन सक्छन्,’ उनले भने, ‘तर खोप लगाए/नलगाएको एकीन तथ्यांक प्राप्त हुन सकेको छैन ।’ हिउँदमा जिल्लाका विद्यालय बन्द हुन्छन् ।
‘केही विद्यार्थीहरु ट्युसन पढ्न जिल्ला बाहिर जाने गर्छन्’ प्रमुख सापकोटाले भने, ‘जो जति ट्युसन पढ्न जिल्ला बाहिर गए । उनीहरु खोप लगाउनबाट वञ्चित भए ।’
कक्षा ६ देखि १० सम्मका एक हजार ३ सय ७२ जना र कक्षा ७ देखि १० सम्मका ५ हजार एक सय ३४ जनाले एचभीपी खोप लगाएको तथ्यांक जनस्वास्थ्य सेवा कार्यालयको छ । एचभीपी खोपका लागि १ सय ६४ वटा सेसन तोकिएको थियो । गत माघ २७ गतेदेखि यही फागुन ७ गते सम्म पाठ्यघर क्यान्सर विरुद्धको खोप अभियान चलेको थियो ।
जनस्वास्थ्य सेवा कार्यालयका अनुसार ९६ दशमलव ५४ प्रतिशत किशोरीले एचभीपी खोप लगाएका हुन् । कनकासुन्दरी गाउँपालिकामा ८ सय जना, सिंजा गाउँपालिकाका ७ सय १५ जना, तातोपानी गाउँपालिकाका ६ सय ७३ जना, गुठीचौरका ४ सय १५ जना, चन्दननाथ नगरपालिकाका १ हजार ४ सय २७ जना, हिमा गाउँपालिका ८ सय ८ जना किशोरीले खोप लगाएका हुन् ।
यसैगरी पातारासीका ८ सय ३ जना, तिलाका ८ सय ६५ जना किशोरीले खोप लगाएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । जुम्लामा चन्दननाथ, गुठीचौर, पातारासी, तातोपानी र तिला गाउँपालिकामा पहिलो चरण र सिंजा, हिमा र कनकासुन्दरी गाउँपालिकामा दोस्रो चरण गरेर खोप अभियान चलेको थियो । कुल ८६ वटा खोप केन्द्रमा ३ सय ३ जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरु परिचालन भएका थिए ।
चिसोले विद्यालय ढिला खुलेका कारण जुम्लामा माघ २७ गतेबाट मात्र खोप अभियान सुरु भएको थियो । जुम्लामा ८ हजार ९ सय २० भाइल खोप आइपुगेको थियो ।
