छत्रेश्वरी मन्दिर परिसरमा मादक पदार्थ सेवन तथा बिक्रीमा प्रतिबन्ध

फाल्गुन १२, २०८१

विप्लव महर्जन

Ban on consumption and sale of alcoholic beverages in Chhatreshwari temple premises

सल्यान — छत्रेश्वरी गाउँपालिकाको छत्रेश्वरी मन्दिर तथा शंखपार्कमा लाग्ने मेलामा मादक पदार्थ सेवन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । 

इलाका प्रहरी कार्यालय लुहाम, मन्दिर संरक्षण समिति र छत्रेश्वरी गाउँपालिकाको सोमबार बसेको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै मादक पदार्थ सेवन र बिक्रीवितरणमा प्रतिबन्ध लगाएको हो । 

कसैले मादक पदार्थ सेवन गरेको या बिक्रीवितरण गरेको पाइए प्रहरीले कानुनबमोजिम कारबाही गर्ने जनाएको छ ।

भगवान् शिवलाई प्रसन्न पार्ने बहानामा शिवरात्रिमा प्रसादका नाममा मादक पदार्थ (भाङ, गाँजा, घोट्टा) सेवन तथा बिक्री वितरण हुने भन्दै यस्तो निर्णय लिइएको छत्रेश्वरी सतीदेवी क्षेत्र विकास समितिका अध्यक्ष विश्वप्रेमी दाहालले बताए ।

शिवरात्रिका अवसरमा भाङ, गाँजा, घोट्टा सेवन गर्नेहरुले शान्ति सुरक्षामा खलल पुर्‍याउने भएकाले मादक पदार्थ सेवन, बिक्रीवितरणमा प्रतिबन्ध लगाइएको इलाका प्रहरी कार्यालय लुहामका प्रमुख वीरेन्द्रराज गुरुङले बताए । निर्णय कार्यान्वयनका लागि सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने उनले जानकारी दिए ।

छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आएका तीर्थयात्रीलाई बस्नखानको व्यवस्था गरिएको बताए । उनका अनुसार शारदा नदी पुल र घोप्टेअम्राईबाट प्रवेशद्वार बनाइएको र फर्कंदा लान्तीबजारको बाटो भएर फर्कने व्यवस्था मिलाइएको छ ।

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully