खुम्चिँदै कुपिन्डे ताल, प्रभावकारी भएन संरक्षण योजना

फाल्गुन ११, २०८१

विप्लव महर्जन

Shrinking Kupinde Lake, conservation plan not effective

सल्यान — सल्यानको बनगाड कुपिन्डे नगरपालिका-८ मा रहेको मिनी राराका रुपमा परिचित कुपिन्डे ताल साँगुरिँदै गएको छ । अव्यवस्थित रुपमा सडक खन्दा खसेका ढुंगामाटो, बर्सातका समयमा बाढीले बगाएको फोहोरका कारण मुहान सुक्दै गएकाले त्यसको असर तालमा देखिएको हो ।

ताल पुरिनबाट बचाउन खहरेमा बेलाबेलामा बाँध निर्माणका काम भए पनि प्रभावकारी हुन सकेको छैन । जसका कारण ताल उच्च जोखिममा परेको छ । 

वडा ८ का अध्यक्ष कुलबहादुर पुरीले दुई दशकअघि मन्दिरसम्म बाह्रै महिना पानी देख्न सकिने कुपिन्डे तालमा अहिले धेरै वर्षा भएका बेला मात्र मन्दिर परिसरसम्म पानी हुने बताए । यसपालि वर्षा र हिउँदमा धेरै पानी नपरेकाले गत वर्षभन्दा केही मिटर पानीको सतह घटेको उनको भनाइ छ ।

‘विगतमा जथाभावी सडक निर्माण र चारैतिर भएका खहरे खोलाले बगाइल्याएको ढुंगामाटोले ताल पुरिँदै गएको थियो । दुई वर्षअघि डिभिजन वन कार्यालयले चारैतिर बाँध निर्माण गरेपछि बर्षातको समयमा बाढीपहिरोले बगाएर ल्याउने धेरैजसो फोहोर तालमा जानबाट रोकिएको छ,’ उनले भने, ‘जलवायु परिवर्तका कारण बर्षात कम हुँदा र हवात्तै बढेको गर्मीले मुहान सुकेपछि पानीको सतह घटेको छ । पहिला पानी हुने ठाँउमा अहिले स्थानीयले घुम्ती पसल सञ्चालन गरेका छन् भने गाडी पार्किङ स्थल भएको छ ।’ 

बनगाड कुपिन्डे-८ ज्यामिरे घर भई हाल तालभन्दा झन्डै एक किलोमिटर माथि घर बनाई बसेका ६५ वर्षीय छविलाल परियारले झन्डै दुई दशकअघिसम्म चारैतिर पानी पानी देख्न सकिने ताल मासिँदै गएकामा चिन्ता व्यक्त गरे । 'पहिला पानी हुने ठाउँ अहिले पर्यटक बस्ने, पिकनिक खाने स्थलमा परिणत भएको छ,‘ उनले भने, 'तीन वर्षअघि धेरै बर्षात हुँदा मन्दिरको भागसम्म पानी पुगेको थियो । अहिले पहिलाको भन्दा पानीको सतह घटेको छ ।’

ताल संरक्षणका लागि विगतदेखि विभिन्न कार्यक्रम गरे पनि  प्रभावकारी हुन नसकेको र पर्यटकलाई बस्न सजिलो होस् भनेर निर्माण गरिएका संरचना समेत तहसनहस भइसकेका उनको भनाइ छ ।  

तालमा आएका पर्यटकबाट नगरपालिकाले प्रतिव्यक्ति १५ र विदेशीबाट १ सय प्रवेश शुल्क लिने गरेको छ । यातायातका साधनबाट २० देखि सय शुल्क उठाउँदै आए पनि ताल संरक्षणमा खासै चासो नदेखाएको स्थानीय वीरबहादुर रोका बताउँछन् । 'ताल संरक्षणका लागि समिति भए पनि निष्क्रिय छ । अहिले अध्यक्ष कता छन् भन्ने समेत थाहा छैन,' उनले भने, 'ताल अहिले निश्चित व्यक्तिको कमाइखाने भाँडो भएको छ ।'

पानीको सतहका आधारमा तालको लम्बाइ १ हजार २ सय मिटर, चौडाइ २ सय ५० मिटर र गहिराइ ५१ मिटर थियो । 

३० हेक्टर क्षेत्रफलमा फैलिएको तालको झन्डै २ हेक्टर क्षेत्रफलमा पानीको सतह घटेको अनुमान गरिए पनि आधिकारिक तथ्यांक नरहेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए । जलवायु परिवर्तनले गर्दा भएका मुहान सुक्नु र खहरेले बगाई ल्याएको फोहोर नै ताल साँगुरिँदै जानुको मुख्य कारण रहेको उनको भनाइ छ । उनका अनुसार ताल संरक्षणका लागि दुई वर्षअघि डिभिजन वन कार्यालय सल्यानले झन्डै ४० लाख अनुदानमा दुई खोलाका विभिन्न स्थानमा बाँध निर्माण गरेको थियो ।

बर्षातको समयमा खोलाले बगाएर ल्याएका ढुंगामाटो बाँधले तालमा जानबाट रोकेको छ । तालको क्षेत्रफल कति खुम्चियो भनेर पत्ता लगाउन कार्यालयले यो वर्ष नापजाँच गर्ने रावलले बताए । कुपिन्डे ताल मात्र नभई कालिमाटी गाउँपालिकामा रहेको कछुवा ताललगायत जिल्लाका विभिन्न स्थानमा रहेका सिमसार क्षेत्र मासिँदै गएको उनी बताउँछन् ।

बनगाड कुपिन्डे नगरपालिकाका इन्जिनियर महेश देवकोटाले ताल संरक्षण र विभिन्न संरचनाका लागि डीपीआर गर्ने क्रममा तालमा पानीको सतह धेरै घटेको पाएको बताए । पर्याप्त बजेट अभावमा ताल संरक्षणका थप काम गर्न समस्या भएको उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully