सुर्खेत — कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तरल ‘नाइट्रोजन प्लान्ट’ सञ्चालन गर्ने भएको छ ।
पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधानको उद्देश्य राखी तरल नाइट्रोजन प्लान्ट निर्माण सुरु गर्न थालेको मन्त्रालयका सूचना अधिकारी पूर्णबहादुर थापाले बताए ।
‘प्लान्ट स्थापनापछि कर्णालीमै गाई, भैंसीको नश्ल सुधार, उच्च गुणस्तरका पाडा र बाच्छा उत्पादन हुने छन्,’ उनले भने, ‘पशुको वीर्य भण्डारण तथा कृत्रिम गर्भाधान गर्न तरल नाइट्रोजन प्लान्ट आवश्यक पर्छ । नश्ल सुधारका लागि अहिले कर्णाली प्रदेशले पशुको वीर्य बाहिरबाट ल्याउनु परिरहेको छ ।’
सूचना अधिकारी थापाका अनुसार बाहिरबाट खरिद गरेर ल्याइएका उच्च जातका राँगा र साँढेको जमेको वीर्यलाई सुरक्षित राख्न र कृत्रिम गर्भाधान प्रक्रियामा प्रयोग गर्न प्लान्टले सहयोग हुन्छ।
अहिले निर्देशनालयले कर्णालीका दुई सय ५० पशुचौपायामा कृत्रिम गर्भाधान सेवा दिँदै आएको छ । निर्देशनालयमा एक हजार पाँच सय किसानले कृतिम गर्भाधानको माग गरिरहेका छन् । प्लान्ट निर्माणमा चार करोड ८५ लाख बजेटमा छुट्याएको थियो ।
