सल्यान — जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-११ पाँचहारेमा चितुवाको आक्रमणबाट आठ पशुचौपाया (बाख्रा) मरेका छन् । घर नजिकै जंगलमा चराउन लगेका बेला चितुवाको आक्रमणबाट स्थानीय मोहलाल पुन, मदन पुनसहित तीन जनाको बाख्रा मरेका हुन् ।
शनिबार चराउन लगेको बाख्रा बेलुकी घर नफर्केपछि आइतबार खोज्न जाँदा चितुवाले मारेको अवस्थामा फेला परेका वडाध्यक्ष वीरबहादुर बुढामगरले बताए । स्थानीयले वनमा चढाउन लगेका ५ भेडा र दुई बाख्रा अझै हराइरहेका उनले जानकारी गराए । उनका अनुसार चितुवाले पहिलोपटक घर नजिकैको जंगलमा चराउन लगेका बाख्रा मारेपछि स्थानीय त्रसित भएका छन् । पछिल्नो समयमा चितुवालगायत जंगली जनावर ह्वात्तै बढेका र विभिन्न किसिमको क्षति पुर्याउँदै आएका उनले बताए ।
बाख्रा चितुवाले नै मारेको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए । सवडिभिजन वन कार्यालय सल्लीबजारको टोली घटनास्थल पुगेको थियो ।
