डढेलो निभाउने क्रममा ६ जना घाइते

३५ घन्टापछि नियन्त्रणमा डढेलो

फाल्गुन ९, २०८१

विप्लव महर्जन

Six people were injured while fighting the fire

सल्यान — बाग्चौर नगरपालिका-२ स्थित देउराली सामुदायिक वनमा बुधबारदेखि लागेको डढेलो निभाउने क्रममा ६ जना घाइते भएका छन् । भिरालो क्षेत्रमा डढेलो निभाउँदा कसैको आगोको लप्कोले पोलेर र कोही लडेर घाइते भएका हुन् ।

घाइते हुनेमा घर्तीगाउँका मोहन घर्ती, देबबहादुर बोहरा, लामाडाँडाका दोर्ण घर्ती, आशिष नेपाली लगायत अन्य दुई जना रहेका सामुदायिक वनका अध्यक्ष रमेश नेपालीले बताए । वनमा लागेको डढेलो निभाउँदा गंगा रोजिन कम्पनीका मेनेजर स्थानीय देबबहादुर बोहराको हातमा आगोको लप्कोले पोलेको र भिरालो क्षेत्रमा दौडधुप गर्दा अन्य लडेर घाइते भएका उनले जानकारी दिए ।

उनका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको र उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको छ । बुधबारदेखि सामुदायिक वनमा लागेको डढेलो झन्डै ३५ घन्टा पछि नियन्त्रणमा लिन सफल भएको उनको भनाइ छ । 

देउराली सामुदायिक वनमा लागेको डढेलोका कारण ८० हेक्टर वन क्षेत्रमा क्षति पुगेको र ३ हजार बढी सल्ला, टुनी, उत्तीसका रुख जलेर नष्ट भएपनि उच्च जोखिममा परेको दर्जन घर स्थानीय, सुरक्षाकर्मीको सहयोगमा बचाउन सफल भएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए । ३५ घन्टापछि डढेलो नियन्त्रणमा लिएपनि जोखिम अझै उत्तिकै भएकाले उच्च सतर्कता अपनाउन उनले सम्बन्धित सबैलाई आग्रह गरेका छन ।  

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully