देउराली सामुदायिक वनको डढेलो अनियन्त्रित, दर्जन घर उच्च जोखिममा

फाल्गुन ८, २०८१

विप्लव महर्जन

Deurali community forest fire uncontrolled, dozens of houses at high risk

सल्यान — सल्यानको बाग्चौर नगरपालिका-२ थारमारेस्थित देउराली सामुदायिक वनमा बुधबारदेखि लागेको डढेलो लागेको अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । चारैतिरबाट हावा चलेको र आगो निभाउने सामग्रीको अभावमा डढेलो नियन्त्रणमा आउन नसकेको हो । 

डढेलोका कारण पयालगाउँ, लामाडाँडा, घर्तीगाउँका दर्जन घर उच्च जोखिममा परेका छन् । डढेलोले ८० हेक्टरभन्दा बढी क्षेत्र जलेर नष्ट भइसकेको र नजिकैको सामुदायिक वनमा सर्न थालेको देउराली सामुदायिक वनका अध्यक्ष रमेश नेपालीले बताए । हुरीबतास चलेकाले डढेलो नियन्त्रणमा लिन कठिनाइ भएको उनले जानकारी दिए । 

‘बुधबारदेखि लागेको डढेलो स्थानीय, सुरक्षाकर्मी मिलेर निभाएका थियौ । हुरी चलेका कारण रातिदेखि पुन: लागेको छ । उच्च जोखिममा परेका चार घर बल्लतल्ल बचाउन सफल भयौं,’ उनले भने, ‘आगो निभाउने यन्त्र नभएको र स्याउलाको भरमा आगो निभाउन गाह्रो भएको छ ।'

इलाका वन कार्यालय थारमारेका प्रमुख सरोज रिजालका अनुसार डढेलोले ३ हजार सल्ला, टुनी, उत्तिसका रुख जलेर नष्ट भएका बताए । डढेलो कसरी लाग्यो भन्ने अहिलेसम्म नखुलेको र अहिले पनि स्थानीय उपभोक्ता, सुरक्षाकर्मी र वनका कर्मचारीको सहयोगमा आगो निभाउने काम भइरहेको उनले बताए ।

डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले माघ दोस्रो सातादेखि अहिलेसम्म विभिन्न सामुदायिक वनको सात स्थानमा डढेलो लागिसकेको बताए । सात स्थानमा डढेलो लाग्दा ५ सय हेक्टरभन्दा बढी वन क्षेत्रमा क्षति पुगेको उनको भनाइ छ ।

यो वर्ष बढी डढेलो लाग्न सक्ने सम्भावना देखिएकाले डढेलो नियन्त्रणका लागि कार्यालयले विभिन्न औजार उपलब्ध गराएको, डढेलो नियन्त्रण संयन्त्र समिति गठन गरेको र स्थानीय तहलाई दमकल किन्न आग्रह गरिएको उनले बताए ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully