पक्षधरताको आधारमा बजेट विनियोजन हुने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्छ : मुख्यमन्त्री कँडेल 

फाल्गुन ८, २०८१

ज्योति कटुवाल

Budget allocation based on favoritism should be discouraged: Chief Minister Kandel

सुर्खेत — कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पक्षधरताको आधारबाट बजेट विनियोजन हुने प्रवृत्तिलाई अन्त्य गर्न सरकारले नीति ल्याउन लागेको बताएका छन् ।

‘पक्षधरताको आधारमा बजेट विनियोजन हुने परिपाटीलाई अन्त्य गर्नु पर्छ, जननिर्वाचित सरकारले पक्षधरता र अनुहारको आधारमा बजेट विनियोजन गर्दा आम मतदातामा त्यसले गलत सन्देश जाने हुनाले पक्षधरताभन्दा आवश्यकताका आधारमा गर्न सरकारले नीतिगत र कानूनी व्यवस्था गर्नु पर्छ,’ उनले भने, ‘अनुहार र पार्टी हेरेर बजेट व्यवस्था गर्दा जनतामा नकारात्मक सन्देश जान्छ र जनताले त्यसलाई स्वीकार गर्ने अवस्था रहँदैन ।’ उनका अनुसार संघदेखि सबै तहका सरकारले बजेट विनियोजन गर्ने तरिकाबारे गम्भीरतापूर्वक सोच्नुपर्ने पर्छ । 

प्रदेश सरकारले थोरै भए पनि कर्णालीका ७ सय १८ वटै वडामा बजेट पठाउने विगतको केन्द्रीकृत अभ्यासलाई परिवर्तन गरी वडाको सिफारिसकै आधारमा विनियोजन गर्ने मापदण्ड लागू गरिएको मुख्यमन्त्री कँडेलको भनाइ छ । 

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमको तयारी स्वरुप सातै प्रदेशमा यस्ता खालको कार्यक्रम गरिएको जानकारी दिए । 

दुई दिनसम्म चल्ने अभिमूमीकरण कार्यक्रममा सोह्रौ योजना, सरकारको नीति तथा कार्यक्रमबारे कर्णाली प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधिहरुबीच छलफल हुनेछ ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully