कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्नातकोत्तर तहमा २६ सिट पढाउन अनुमति

फाल्गुन ६, २०८१

डीबी बुढा

Karnali Academy of Health Sciences is allowed to teach 26 seats at postgraduate level

जुम्ला — चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई स्नातकोत्तर तहमा २६ सिट पढाउन अनुमति दिएको छ । चिकित्सा विज्ञान अध्ययनका लागि विभिन्न विधामा २६ सिट अध्यापन गराउन अनुमति दिएको हो ।

यस वर्ष चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २६ सिट स्वीकृत गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलले जानकारी दिए । चिकित्सा शिक्षाले अनुमति दिएसँगै स्नातकोत्तर सुरु गर्ने कर्णाली प्रतिष्ठानको सपना पूरा भएको उनले बताए । 'एमडीएमएसका धेरै सिटमा चिकित्सा शिक्षा आयोगले पहिलाभन्दा दोब्बर सिट प्रदान गरेको छ,' उनले भने, ‘यो समग्र कर्णालीवासीका लागि सुखद सन्देश हो ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एडल्ट हेल्थ नर्सिङ, चाइल्ड हेल्थ नर्सिङ र वुमन हेल्थ नर्सिङमा दुई–दुई सिट, एनाटोमीमा एक सिट, फर्मनकोनोलोजीमा पाँच सिट, पब्लिक हेल्थमा पाँच सिट, बालरोगमा तीन सिट, शल्यचिकित्सा, एनेस्थेसियामा एक–एक सिट, हाडजोर्नी तथा ट्रमामा दुई सिट र सामान्य चिकित्सा अभ्यासमा दुई सिट पढाउने अनुमति पाएको हो । 

'कर्णालीमा विशेषज्ञ चिकित्सक उत्पादन हुनु यहाँको स्वास्थ्य सेवा आत्मनिर्भर बन्दै जानु हो,' उपकुलपति डा. रावलले भने, ‘अब कर्णालीले बिरामीको मात्र उपचार गर्दैछैन, डक्टरी उत्पादन गरेर दुर्गममा स्वास्थ्य सेवा दिन पठाउँदै छ ।’

शिक्षाध्यक्ष डा. डबलबहादुर धामीले डाक्टर अभावमा कर्णालीका अस्पताल सञ्चालन गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । 'कर्णालीमै पढेका चिकित्सकहरु दुरदराजमा पुगेर स्वास्थ्य सेवा दिने अवस्थामा छन् । कर्णाली स्वास्थ्य शिक्षामा आत्मनिर्भर बन्दै छ । स्वास्थ्य सेवामा अब्बल बनिरहेको छ,' शिक्षाध्यक्ष धामीले भने, ‘अब स्वास्थ्य अनुसन्धानमा समेत कर्णालीको योगदान स्मरण गर्न योग्य बनाइने तयारी छ ।’

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कर्णालीले स्वास्थ्य क्षेत्रमा फड्को मारेको प्रतिक्रिया दिएका थिए । उनीहरुले कर्णालीको स्वास्थ्य क्षेत्र बलियो बनाउन सरकार गम्भीर भएर लाग्नेसमेत प्रतिबद्धता जनाएका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान २०६८ सालमा स्थापना भएको हो । प्रतिष्ठानसँग अहिले ३ सय शय्याको अस्पताल पनि छ ।

डीबी बुढा कान्तिपुरका जुम्ला संवाददाता हुन् ।

Link copied successfully