जुम्ला — जुम्ला सदरमुकाम खलंगाको बिचमा बग्ने जुगाडखोलालाई स्वच्छ, सफा र कन्चन बनाउन जुगाडखोला करिडोर निर्माणको काम सुरु भएको छ । करिडोरले पछिल्लो समयमा फोहोर र दूषित बन्दै गइरहेको जुगाडखोला आकर्षक बनाउने नगरपालिकाले जनाएको छ ।
करिडोरको शिलान्यास चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले गरिन् । नगरपालिकाको पर्यटन प्रवर्द्धन गर्न करिडोरले निकै ठूलो भूमिका खेल्ने उपप्रमुख खड्काको विश्वास छ । उनले भनिन्, ‘जुगाडखोला करिडोर आफैंमा पर्यटकीय गन्तव्य बन्ने निश्चित छ । त्यसैमा पनि कन्चन जुगाडखोलाको दृश्यले मनै लोभ्याउनेछ ।’
करिडोरमा पर्यटन पूर्वाधार निर्माणका लागि रेखांकनसमेत सुरु भइसकेको छ । चन्दननाथ-५ स्थित खानेपानी उपभोक्ता समितिको कार्यालय नजिकैबाट डोजर लगाइएको हो ।
करिडोर बहुवर्षीय योजनाअनुसार पहिलोपटक ६ करोड रुपैयाँ छुट्याइएको छ । चालु आर्थिक वर्षमा तीन किलोमिटर करिडोरको काम निर्माण हुने नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए । खानेपानी उपभोक्ता समितिको कार्यालयदेखि चन्दननाथ-४ मालाभिडसम्म दायाँबायाँ दुई मिटर फराकिलो करिडोर यो आर्थिक वर्षभित्रै निर्माण हुने छ ।
‘करिडोरभित्र पर्ने सार्वजनिक स्थानमा बनेको भौतिक संरचना उठाउन नगरपालिकाले पत्र पठाइसकेको छ । सार्वजनिक जग्गामा निर्मित घर टहरा तत्काल भत्काउन आग्रह गरिएको छ,’ प्रमुख कठायतले भने, ‘अटेर गरेमा डोजर लगाएर भत्काउन बाध्य भइनेछ ।’
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढथापाले सहकारी विकास तथा भवन निर्माण आयोजनाको २० करोड सहयोगमा करिडोरको काम हुने बताए । जुगाडखोलालाई स्वच्छ र हराभरा बनाउने काम करिडोरले गर्नेछ । उनले भने, ‘त्यहीअनुसार नगरपालिकाले पनि विशेष प्राथमिकतामा राखेर काम अघि बढाइसकेको छ ।’
जुगाडखोला करिडोरमा स्टेट लाइट, सीसी क्यामरा र बिचमा आराम गर्न मिल्ने प्रतिक्षालयहरु बनाइनेछ । सबैले करिडोरमै मर्निङवाक गर्न मिल्ने गरेर पूर्वाधार निर्माण सुरु भएको छ ।
