वीरेन्द्रनगर — सुर्खेतको वीरेन्द्रनगरमा सोमबारदेखि कर्णाली उत्सव ‘कुडा कर्नालीका’ सुरु हुने भएको छ । २०७६ देखि सुरु भएको उत्सवको यो छैटौं संस्करण हो । आयोजक ऋति फाउन्डेसनका अनुसार कर्णाली उत्सव फागुन ७ सम्म तीन दिन चल्नेछ ।
आयोजकका अनुसार सोमबार कर्णालीको भौतिक पूर्वाधार राज्यमन्त्री गमता विक, केवलप्रसाद भण्डारी, वैदेशिक रोजगारी बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीलगायतले मन्तव्य राख्नेछन् ।
कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले नीति उत्सवको औचित्यका विषयमा मन्तव्य राख्नेछन् भने विश्लेषक आहुतीको ‘मान्ठ र मइडो’ शीर्षकको विद्वत प्रवचन रहनेछ । साथै, कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले संघीयताका विषयमा मन्तव्य राख्नेछन् ।
यसपालि उच्च शिक्षा, अनुसन्धान र विकास, कर्णालीमा महिला आन्दोलन, खस भाषामा युवाको सक्रियता, नारी नेतृत्व, स्याउ खेती, अर्थतन्त्र, संघीयता, मधेश र कर्णाली प्रदेशको सम्बन्ध, जिल्ला सदरमुकामका इतिहास, वीरेन्द्रनगर उपत्यकाको इतिहास र वर्तमान अवस्था, राजनीतिमा सक्रियता, खेलकुद जस्ता विषयमा समूह छलफल गरिने आयोजकले जनाएको छ ।
उत्सवका क्रममा प्रत्येक दिन विद्वत प्रवचन, पैकेलो, सांगीतिक साँझ रहनेछन् । यसअघि बुलबुले उद्यानमा हुने उत्सव यो वर्ष भने सिटी हलको प्रांगणमा हुनेछ । कुडा कर्नालीका कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक लगाएका विषयमा रूपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोका रूपमा रहेको आयोजक कमिटीका संयोजक कमल लम्सालले बताए । कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव भएको उनको भनाइ छ । यसले कर्णालीका विविध विषयमा सामाजिक संवादको मञ्च निर्माण गर्ने अपेक्षा गरेको लम्सालले बताए ।
