सल्यान — डढेलो नियन्त्रणका लागि सल्यानमा धमाधम संयन्त्र गठन गर्न थालिएको छ । स्थानीय तहको संयोजकत्वमा सब-डिभिजन वन कार्यालय, वन महासंघ, सामुदायिक वनका पदाधिकारीलाई सहभागी गराएर संयन्त्र बनाउन थालिएको हो ।
विपद्का घटना हुनबाट रोक्न जिल्ला प्रशासन कार्यालय सल्यानले जिल्लाका १० स्थानीय तहलाई संयन्त्र गठनका लागि पत्र पठाएको थियो । त्यसपछि डिभिजन वन कार्यालयको समन्वयमा डढेलो नियन्त्रणसम्बन्धी संयन्त्र गठन गर्न थालिएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख टेकबहादुर रावलले बताए । अहिले त्रिवेणी गाउँपालिका र कपुरकोटमा ५१ देखि १ सय ५० सदस्यसहित डढेलो नियन्त्रण संयन्त्र गठन गरिसकेको र अन्य पालिकामा प्रक्रिया अगाडि बढाएको उनले जानकारी गराए ।
‘सल्यान डढेलोको उच्च जोखिममा छ । डढेलो नियन्त्रणका लागि स्थानीय तह तथा सामुदायिक वनको उत्तिकै जिम्मेवारी हुने भए पनि सधैं प्रहरी, नेपाली सेना र सशस्त्रको भर पर्नुपरेको छ । सबैलाई उत्तिकै जिम्मेवार बनाउन संयन्त्र गठन गरिएको हो,’ उनले भने । संयन्त्रले सबैलाई जिम्मेवार मात्र नभई डढेलो नियन्त्रणका लागि सक्रिय बनाउने उनको भनाइ छ । ‘वन संरक्षणदेखि भोगचलन उनीहरुले नै गर्दै आएका छन् । सक्रियता देखाए उनीहरुले वनमा डढेलो लाग्नबाट बचाउन सक्छन्,’ उनले भने ।
विगतमा डढेलोका कारण जिल्लाका अधिकांश सामुदायिक तथा राष्ट्रिय वनमा ठूलो क्षति भएको थियो । दर्जंनौ घर जलेका र आगो निभाउँदा स्थानीय बासिन्दाले ज्यान गुमाएकाले डढेलो नियन्त्रणका लागि संयन्त्रले धेरै मद्दत पुग्ने कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताए । डढेलो नियन्त्रणका लागि सामुदायिक वनलाई सक्रिय बनाइने उनको भनाइ छ ।
सामुदायिक वनका सदस्य सचेत भए मात्र पनि वनमा लाग्ने डढेलो धेरै कम हुने भएकाले संयन्त्र गठन गर्नु राम्रो भएको वन महासंघ सल्यानका अध्यक्ष पुरुषोत्तम भटराई बताउँछन् । 'संयन्त्र गठन हुनु निकै राम्रो कुरा हो तर आगो निभाउने सामग्रीको व्यवस्था पनि गरिनुपर्छ । नत्र कसैले पनि आफ्नो ज्यान सजिलै दाउमा लगाउन सक्दैनन् ।'
