कर्णाली उत्सवको छैटौं संस्करण 'कुडा कर्णालीका' सोमबारदेखि

फाल्गुन ४, २०८१

तृप्ति शाही

Sixth edition of Karnali festival 'Kuda Karnalika' from Monday

वीरेन्द्रनगर — सोमबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली उत्सव 'कुडा कर्णालीका' सुरु हुँदैछ । २०७६ देखि सुरु भएको उत्सवको यो छैटौं संस्करण हो । उत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजक ऋति फाउन्डेसनले जनाएको छ । 

विगतमा वर्षझैं यो पटक पनि फागुन ५,६ र ७ गतेसम्म उत्सव चल्नेछ । सोमबार मध्याह्न उद्घाटन हुने उत्सवमा वैदेशिक रोजगारी र सुरक्षित आप्रवासनका विषयमा बोर्डको सचिवालयका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले मन्तव्य राख्नेछन् भने कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले नीति उत्सवको औचित्यका विषयमा विचार राख्नेछन् । 

यस्तै उद्घाटन सत्रकै क्रममा ‘मान्ठ र मइडो’ शीर्षकको एउटा विद्वत् प्रवचन रहनेछ । उक्त प्रवचन राजनीतिक विश्लेषक आहुतिले प्रस्तुत गर्नेछन् । उद्घाटन सत्रकै बीचमा मुख्यमन्त्री यामलाल कँडेलले संघीयताका विषयमा मन्तव्य राख्ने कार्यतालिका रहेको आयोजकले जनाएको छ । 

उत्सवको छैटौं संस्करणमा उच्च शिक्षा, अनुसन्धान र विकास, कर्णालीमा महिला आन्दोलन, खस भाषामा युवाहरुको सक्रियता, नारी नेतृत्व, स्याउ खेती, अर्थतन्त्र, संघीयता, मधेश र कर्णाली प्रदेशको सम्बन्ध, जिल्ला सदरमुकामका इतिहास, वीरेन्द्रनगर उपत्यकाको इतिहास र वर्तमान अवस्था, राजनीतिमा सक्रियता, खेलकुदजस्ता विषयमा समूहमा छलफल गरिने आयोजकले जनाएको छ । उत्सवका क्रममा प्रत्येक दिन विद्वत प्रवचन, पैकेलो, सांगीतिक साँझ हुनेछ ।

यसअघि बुलबुले उद्यानमा हुने उत्सव यो वर्ष भने सिटी हलको प्रांगणमा हुनेछ । कुडा कर्णालीका कर्णालीको आर्थिक, सामाजिक र राजनीतिक लगायका विषयमा रुपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्ने साझा थलोको रुपमा रहेको आयोजक कमिटीका संयोजक कमल लम्सालले बताए ।

कर्णाली उत्सव कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको उत्सव भएको उनले बताए । यसले कर्णालीका विविध विषयमा सामाजिक संवादको मञ्च निर्माण गर्ने अपेक्षा गरेको लम्साले बताए ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully