तिला नदीमा बेपत्ता युवा अझै भेटिएनन्

फाल्गुन ३, २०८१

तुलाराम पाण्डे

The missing youth in Tila river is still not found

कालीकोट — माछा मार्ने क्रममा तिला नदीमा बेपत्ता भएका तिलागुफा-४ राचुलीका भोजनबहादुर शाही शनिबार बेलुकीसम्म पनि भेटिएका छैनन् । शुक्रबार बेलुकी माछा मार्न झरेउला (पासो  थापेर) शनिबार बिहान तिला नदी किनारमा गएका २४  वर्षीय  शाही नदीमा डुबेर बेपत्ता भएको कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए ।

स्थानीय कालिका मावि राचुलीमा कक्षा १२ मा अध्ययनरत शाही नदीमा बेपत्ता भएको खबर आएपछि राचुली गाउँका स्थानीय र खल्लागाड प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले खोजी गरेको हो ।

युवक बेपत्ता भएको खबर पाएपछि आधा घण्टामै घटनास्थल पुगेर खोजी थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द चौधरीले बताए ।

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully