सल्यान — अनुमति नलिएर सल्ला र सालका रुख काटेको आरोपमा एक जना पक्राउ परेका छन् । विद्युत्को लाइन विस्तारका लागि भन्दै जथाभावी रुख काटेको भन्दै डिभिजन वन कार्यालय सल्यानले पक्राउ परेको हो ।
पक्राउ पर्नमा जिल्लाको दार्मा गाउँपालिका–४ का ४३ वर्षीय चेतबहादुर बुढाथोकी रहेका छन् । बुढाथोकीले विद्युत् लाइन विस्तारका लागि दार्मा–४ को लामाडाँडास्थित राष्ट्रिय वनको विभिन्न स्थानमा ३३ वटा सल्ला र ९ वटा सालका रुख काटेका थिए ।
अनुमति नलिएर राष्ट्रिय वन क्षेत्रमा जथाभावी रुख काटेको पाइएपछि प्रहरीको सहयोगमा बुढाथोकीलाई पक्राउ गरिएको डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजंग खड्काले जानकारी दिए ।
पक्राउमा परेका बुढाथोकीलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको र बरामद गरेका साल तथा सल्लाका गोलिया काठ सव–डिभिजन वन कार्यालय थारमारे ल्याउने तयारी भइरहेको उनले जानकारी गराए ।
