रुकुम पश्चिम — जिल्ला सदरमुकाम खलंगा बजार र आसपासमा खुला ठाउँमा ड्रममा राखेर पेट्रोलियम पदार्थ बिक्री गर्ने पसलहरूमा जिल्ला प्रशासन कार्यालयले सिलबन्दी गरेको छ । जिल्ला प्रशासन कार्यालय र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले गरेको संयुक्त अनुगमनका क्रममा चारवटा पसल सिल गरिएको हो ।
मुसिकोट नगरपालिका-५ मा रहेको पसल, मुसिकोट-१ मा रहेको समृद्धि आयल सप्लार्यस, दाजुभाइ मोटर पार्ट्स र पातुखोलामा रहेको माउन्ट एभरेस्ट आयल सप्लार्यसमा सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीले जानकारी दिए ।
'खुला रुपमा पेट्रोलियम पदार्थ नबेच्न अनुरोध गर्दा पनि अटेर गरेपछि आज अनुगमन गरेर पसलमा सिल गरिएको छ,' उनले भने, ‘एउटा पसलमा ८ सय लिटरसम्म पेट्रोलियम पदार्थ राखिएको पाइयो । शुद्धतामा पनि कैफियत भेटियो । मूल्य तोकिएकोभन्दा केही बढी नै लिने गरेको गुनासो सुनियो। प्रक्रिया नपुगेका त्यस्ता पसलहरूमा प्रक्रियासम्मत ताला लगाइदिएका हौँ ।’
नेपाल आयल निगमबाट आधिकारिक रूपमा अनुमति नलिएर तेल बेच्ने गरेको, पेट्रोल पम्पबाट तेल किनेर उपभोक्तालाई फरक–फरक मूल्यमा बेच्ने गरेका, बिल नराखेकोसमेत भेटिएको प्रशासनले जनाएको छ । बन्द गरिएका पसलहरूलाई कानुनी पक्रियामा आउन तीन दिनको समय दिइएको पनि प्रशासनले जनाएको छ ।
