सुख्खा पहिरोले कर्णाली करिडोरको खच्चा सडक अवरुद्ध

माघ २७, २०८१

तुलाराम पाण्डे

Karnali Corridor road blocked due to dry landslides

कालिकोट — सुख्खा पहिरोले कर्णाली करीडोर अन्तर्गत हुम्लाको खच्चा सडक खण्ड पुनः अवरुद्ध भएको छ । पटक-पटक सुख्खा पहिरो आउने गरेको खच्चामा आइतबार बिहान ८ बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएसँगै हुम्लाको सदरमुकाम जाने र सर्केगाड आउने यात्रु तथा मालबाहक गाडीसहित सम्पूर्ण यातायातका साधनहरु बाटैमा रोकिएको प्रहरीले जनाएको छ । यातायाताका साधनहरु ठप्प भएपछि नागरिकहरु हिँडेर यात्रा गर्न बाध्य भएको अस्थायी  प्रहरी पोष्ट बालकुनाका प्रहरी हवल्दार राजबहादुर विष्टले जानकारी दिए । 

‘बिहानैदेखि सडक अवरुद्ध छ,’ उनले भने, ‘जेसीबी आएर पहिरो पन्छाउने काम भइरहेको छ ।’ पहिलो खुले पनि बीच बाटोमा एक्सल भाँचिएर ट्रक रोकिएकाले सवारी आवतजात गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । 

सर्केगाड गाउँपालिका वडा नम्बर १ को खच्चामा माथिबाट सुख्खा पहिरो आएर करिब २० मिटर सडक पूर्णरुपमा छोपिएको छ । तुम्चाको बालुकुनामा रहेको अस्थायी प्रहरी पोष्टको टोली र सडक डिभिजन कार्यालयको पहलमा जेसीबीले बाटो खुलाउने प्रयास गरिरहेको छ । 

सडक अवरुद्ध हुँदा सुर्खेतबाट हुम्ला जिल्लाको सर्केगार्डतर्फ आउँदै गरेका ३ वटा मिनी बस, ५ वटा मिनी ट्रक, ३ वटा हाइस र हुम्लाको सर्केगार्डबाट सुर्खेततर्फ जाने एक मिनी ट्रक र एक बस बाटोमा रोकिएका छन् । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully