तीर्थयात्री सवार बस बबई नजिक दुर्घटना

माघ २७, २०८१

तृप्ति शाही

Bus carrying pilgrims crashes near Babai

वीरेन्द्रनगर — सुर्खेतबाट कुम्भ मेलाका तीर्थयात्री लिएर जाँदै गरेको बस बबई नजिक दुर्घटना भएको छ । आइतबार बेलुका साढे ५ बजेतिर भे १ ख ४३३१ नम्बरको बस बबईभन्दा १ किलोमिटर अघि सुर्खेतपट्टि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी रूपक खड्काका अनुसार घाइते सबैको उद्धार गरेर कोहलपुर मेडिकल कलेज लगिएको छ ।

बस भारतको उत्तर प्रदेशस्थित गंगा, यमुना र सरस्वतीको त्रिवेणी प्रयागराजमा जारी कुम्भ भेलामा जाँदै गरेको रिजर्भ बस पुलभन्दा तल खसेका प्रहरीले जनाएको छ । बसमा ४० जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ । 

घटनास्थल पुगेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारका अनुसार चालकसहित बसको अगाडिको भागमा बसेका ५/७ जना गम्भीर घाइते छन् । 

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully