गोठमा आगलागी हुँदा ५५ भेडा जले

माघ २५, २०८१

तुलाराम पाण्डे

55 sheep were burnt when the shed caught fire

कालिकोट — गएराति भेडी गोठमा आगलागी हुँदा तिलागुफा-१० का काले रानाका ५५ भेडा जलेर मरेका छन् ।

बिहीबार राति खाना पकाएको आगो सल्केर रानाको तिलागुफा-१० सेरी लेकगोठमा आगलागी हुँदा खोरमा भएका सबै भेडा जलेर मरेको जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले बताए ।

राति खाना पकाएको आगो सल्किएर एक तले खरको छाना भएको गोठमा आगो लागेर सबै भेडा मरेका उनले बताए । उनले भने, 'हावाहुरी पनि चलेकाले आगोले धेरै क्षति गर्‍यो ।' उनका अनुसार अस्थायी प्रहरी पोस्ट चिल्खायाबाट सहायक प्रहरी निरीक्षक गणेश बहादुर कार्कीको नेतृत्वमा गएको ३ सदस्यीय टोलीले मरेका ५५ भेडाको मुचुल्का उठाएर जिल्ला प्रहरीमा पठाएको छ ।

वर्षौँदेखि भेडा पालन गर्दै आएका रानाले चरनको लागि गत मंसिरदेखि सेरी लेकमा लगेका थिए ।

भेडा मरेर क्षति भएका किसान रानालाई क्षतिपूर्तिको लागि पहल गरिने तिलागुफा नगर प्रमुख शंकरप्रसाद उपाध्यायले जानकारी दिए ।  

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully