भेरी नदीमा बेपत्ता घर्तीको शव भेटियो

माघ २४, २०८१

तृप्ति शाही

Body of missing Gharti found in Bheri river

वीरेन्द्रनगर — झोलुंगे पुलको लठ्ठा बाँध्ने क्रममा भेरी नदीमा खसेर बेपत्ता भएका एकजनाको शव भेटिएको छ । बिहीबार दिउँसो सशस्त्र प्रहरीको गोताखोर टोलीले २४ वर्षीय अनिल घर्तीको शव भेटाएको हो । सशस्त्र प्रहरी बल नम्बर ६ महेश्वरी बाहिनी सुर्खेतको गोताखोर टोलीले उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

शव नदीको झण्डै ४० फिट गहिराइमा अड्किएको अवस्थामा फेला परेको हो । उनीसँगै भेरीमा खसेर बेपत्ता भएका १८ वर्षीय अर्जुन झाँक्रीमगरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए । दुवै जना रुकुमपूर्वको सिस्ने गाउँपालिका–२ का हुन् । 

भेरी नदीमा बेपत्ता भएका दुवै जनाको खोजीका लागि नम्बर ६ महेश्वरी बाहिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक राम खत्रीसहितको टोली घटनास्थलमा छ । बराहताल गाउँपालिका–४ कुटा र पञ्चपुरी नगरपालिका–१० चाम्री जोड्ने निमार्णाधीन झोलुंगे पुलको जाली लगाउने बेला लठ्ठाले हुत्याएपछि बुधबार उनीहरु नदीमा खसेका हुन् ।

तृप्ति शाही कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully